सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने



सरोज यादव, विराटनगर
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बहिरा तथा फरक क्षमता भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउन आफूले पहल गर्ने बताउनुभएको छ।
कोसी बहिरा संघले आफ्नो रजत महोत्सवको अवसरमा आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
मन्त्री घिमिरेले न्युन संख्यामा रहेका समुदायले बोल्ने भाषाहरूलाई समेत राष्ट्रिय भाषाको मान्यता दिइएको अवस्थामा हजारौंको संख्यामा फरक क्षमता भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषालाई मान्यता दिलाउन पहल गर्ने बताउनुभयो। उहाँले प्रदेश नम्बर १ मा हाल १ सय ७ वटा भाषा रहेकोमा सांकेतिक भाषालाई १ सय आठौं भाषाको रूपमा मान्यता दिलाउन आफूले पहल गर्ने आश्वासन दिनुभयो।

राष्ट्रिय अपाङ महासंघ प्रदेश एकका अध्यक्ष राम कार्कीले सञ्चार समस्याका कारण फरक क्षमताका व्यक्तिहरूले समस्या खेपिरहेको बताउनुभयो।

उहाँले अदालतमा सांकेतिक भाषालाई मान्यता नदिइएकाले पीडितहरूले आफ्ना कुरा आफै राख्न नपाएर अन्यायमा परिरहेको बताउनुभयो। उहाँले अदालतले नै सांकेतिक भाषालाई मान्यता नदिनु बहिराहरूप्रतिको अन्याय भएको बताउनुभयो।

विराट बहिरा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेशचन्द्र पौडेलले बहिराहरूलाई माध्यमिक तह कक्षा १२ सम्म सांकेतिक भाषामा शिक्षा हासिल गर्न सक्ने वातावरण बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो।

यसअघि सामाजिक विकास मन्त्री घिमिरेले रातो रिबनले बाँधिएको २५ जना बहिरा विद्यार्थीको हातको रिबन काट्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रममा केक काट्नुका साथै परेवा र बेलुन उडाइएको थियो।

प्रतिक्रिया दिनुहोस्