यसरी भयो सनम शाक्यको हत्या



सरोज यादव, विराटनगर

साढे ३३ किलो सुन तस्करी र उर्लाबारी सनम शाक्यको हत्याको आरोपमा पक्राउ परेकामध्ये काभ्रेपलान्चोक जिल्लाका टेकराज मल्ल ठाकुरीले सनम हत्याको विषयमा बयान दिएका छन्। उनी मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका विश्वास पात्र हुन्। पक्राउ परेका अभियुक्त ठाकुरीलाई अपराधिक समूह स्थापना, सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मोरङ अदालतमा मुद्दा दायर गरिएको छ। उनीसहित ६ जनाको बयान बिहीबारबाट शुरू भयो। अदालतले अभियुक्तहरूको बयान लिन शुरू गरेको पहिलोपटक टेकराजसहित अन्य ६ जनाको बयान लिएको छ।

ठकुरीले प्रहरीलाई दिएको बयान

काठमाडौंमा २०६२ सालतिर आई काकाको घरमा बस्दै आएको थिएँ। २,३ महिना बसेपछि कामबिना बसेर नहुने सोची काकाको घरबाट निस्की कामको खोजीमा हिँडे। पछिल्लो समयमा काठमाडौंको न्युरोडमा रहेको पार्किङमा शुल्क उठाउने कामको शुरूआत गरें। यसैक्रममा नजिकै सुनको पसल रहेका बेनु श्रेष्ठसँग चिनजान भयो। उसको सुन पसल रहेछ। उसैको सुन पसलमा काम गर्ने क्रममा गोरे भन्ने चुडामणि उप्रेती बेनुमार्फत चिनजान भयो र गोरेसँग काम गर्न शुरू गरें। एकदिन गोरे र बेनु श्रेष्ठको कुराकानी ठकुरीले सुने। गोरेले श्रेष्ठसँग भनेका थिए– ‘यो केटो राम्रो काम गर्दो रहेछ यसलाई हाम्रो काममा लाउनुपर्छ।’

त्यसपछि श्रेष्ठले आफूलाई विदेश जाने हो भनेर सोधेको ठकुरीको बयानमा उल्लेख छ। शुरूमा विदेश जान नमानेको तर श्रेष्ठले पटकपटक ‘जाऊ राम्रो कमाइ हुन्छ’ भनेर फकाएको उनले बताएका छन्। ‘बेनुले मलाई पटक–पटक तिमी विदेश जाऊ राम्रो कमाइ हुन्छ भनेर आश देखाउँथे। विदेशमा बस्ने गरी जान्नँ भनेपछि उनले लामो समय बस्नु पर्दैन। दुबई गएर १० र १५ दिन बस्ने त्यसपछि फर्किने हो। तिमीलाई पनि राम्रो कमाइ हुन्छ भनेपछि म रेडी भएँ’ –उनले बयानमा भनेका छन्। दुबई जान राजी भएपछि श्रेष्ठले उनलाई गोरेकहाँ पठाए। तीनकुनेमा गोरे र मल्लको भेट भयो। तिनकुनेमा देख्दा गोरेले आफूलाई तलदेखि माथिसम्म हेरेको र एकपटक फनक्क घुम्न लगाएको पनि बयानमा ठकुरीले भनेका छन्।

झन्डै १० वर्षअघि ४ किलो सुन नेपाल भित्याएर ठकुरीले तस्करी थालेका थिए। त्योबापत् उनले ६० हजार रुपियाँ पाए। ठकुरीले बयानमा भनेका छन्– ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए। ६० हजार रुपियाँ दिए र फेरि पनि जानुपर्छ है भने।’

 

‘७ दिनभित्र पासपोर्ट बनाइ मलाई भेट्नु भनेपछि हामी छुट्टियौं’ –उनको बयानमा उल्लेख छ। पासपोर्ट बनाएको ३ महिना पछि ५ र ७ जनाको समूहसँगै मल्ल दुबई उडे। विमानस्थलमा सञ्जय खरेल उनलाई लिन आएका थिए। उनीहरू नजिकैको कोठामा पुगे। संजय र शिवकुमार गुबाजु बसिरहेका थिए। केहीबेरमा गोरे पनि आइपुगे। १५ दिनपछि गोरेको खबर आयो ल तँ नेपाल फर्की। उनी फर्किने तरखर गर्दै थिए, शिवानी खरेल नामकी एक युवती आइन्। उनले साथमा झोला पनि बोकेर ल्याएकी थिइन्। उनैले मल्ललाई दुबई एयरपोर्टदेखि नेपालको विमानस्थलसम्म आउँदा के गर्नुहुन्छ के गर्नुहुँदैन भन्ने सिकाइन्। ‘तैंले बोकेको झोलामा ४ किलो सुन छ, नेपालको एयरपोर्ट पुगेपछि टीजी भन्ने सानु बनलाई दिनु भनिन्’ –उनले बयानमा भनेका छन्।

शुरूमा मल्लसँगै शिवानी पनि आएकी थिइन्। विमानस्थलबाट उनलाई थाहै नदिई बाहिर निस्किइन्। विमानस्थलमा चेकजाँच हुनुअघि नै विमानस्थलका कर्मचारी सानु बनलाई ठकुरीले ४ किलो सुन बुझाएका थिए। झन्डै १० वर्षअघि ४ किलो सुन नेपाल भित्याएर ठकुरीले तस्करी थालेका थिए। त्योबापत् उनले ६० हजार रुपियाँ पाए। ठकुरीले बयानमा भनेका छन्– ‘एरपोर्टबाट कोठामा आएँ, दिउँसो साहुजी बेनु श्रेष्ठले मलाई फोन गरी पैसा लिन बोलाए। ६० हजार रुपियाँ दिए र फेरि पनि जानुपर्छ है भने।’

३ दिनपछि सुन बोक्न ठकुरी फेरि दुबई गए। यसपालि उनी एक्लै थिए। ‘बेनु श्रेष्ठले जसोजसो भनेका थिए त्यसै गरें। दुबईमा गोरेलाई भेटें। १५ दिन त्यहीं बसे। पछि गोरेले उनलाई ५ किलो सुनको झोला दिएँ। गोरेले नै उनलाई दुबईको विमानस्थलसम्म पुर्याइदिए। त्रिभुवन विमानस्थलमा आइपुगेपछि मल्लले झोला जाँच हुनुअघि सानु बनलाई नै दिए। त्यसपछि पनि उनीहरूले भनेबमोजिम कहिले ७, कहिले ८ किलो बोक्दै ल्याउथें, एकपटक १६ किलो पनि ल्याएको थिएँ’ –उनले बयानमा भनेका छन्।

‘केही समयपछि बेनु श्रेष्ठ र गोरेको पार्टनरसिप छुट्यो। ठकुरी गोरेसँग काम गर्न थाले। काम गर्दै जाँदा उनले मलाई एकदमै विश्वासिलो पात्र मानेर गाडीमा लिएर हिँड्ने, उसैको गाडी चलाउन दिने गर्थे। चाहिएको पैसा पनि दिन्थे’ –ठकुरीले भनेका छन्।

गत माघ ९ गते मल्ल र रोहित आचार्य दुबईबाट साढे ३३ किलो सुन बोकेर आए। यसपालि पनि एयरपोर्टमा सानु बनलाई जिम्मा लगाए अनि आ–आफ्नो घर गए। बेलुकामात्र सुन सम्बन्धित ठाउँमा नपुगी बाटैबाट लुटियो भन्ने खबर पाएको बयान उनले दिएका छन्।

सुन हराएको खबरपछि उनले भविन राई, लाक्पा शेर्पा र टुकबहादुर मगरलाई भेटे। भारतमा रहेका गोरेलाई जानकारी पनि गराए। उनैले भनेबमोजिम चारै जना २ वटा गाडीमा सुन खोज्न एयरपोर्ट पुगे। सानु बन, तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछ गरे। सानुले २ वटा मोटरसाइकलमा आएका ४ जना अपरिचितले अनामनगरबाट सुन लुटेको बताए।
उनीहरूसँग काम गर्ने मोहन काफ्ले, सनम शाक्य, रूस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्की घर गएका थिए। भविन राईले तिनीहरूलाई फोन गरेर बोलाए। मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्की भोलिपल्ट बिहान काठमाडौं आइपुगे। रुस्तम मियाँ र सनम शाक्य पनि छुट्टाछुट्टै समयमा काठमाडौं आए। सबैलाई बोलाएर सोधीखोजी गरियो तर सुन फेला परेन।

६ र ७ दिनपछि गोरे भारतबाट आए। सबैलाई जम्मा पारेर कसरी सुन लुटियो भनी सोधपुछ गरे, अनुसन्धान थाले। ‘त्यो ठाउँबाट सुन लुटियो भन्ने कुराको विश्वास भएन। यिनीहरूले यहाँ भनेनन् भारतमा लगी सोधपुछ गर्नुपर्छ भनेर गोरेले योजना बनाए’ –ठकुरीले बयानमा भनेका छन्।

‘काफ्ले, सनम शाक्य, कृष्ण भन्ने नरेन्द्र कार्की, टुकबहादुर मगर, सुरेन्द्र गौतम, तक्ले, एलबी मगर, सानु बन, बालकृष्ण खत्रीलाई गोरेले सिन्धुलीको खनियाँखर्क पुर्याए। सोधपुछबाट भुर्जुन भोटेले साढे ३३ किलो सुन लगेको छ भन्ने निष्कर्ष निक्लियो। सबै काठमाडौं फर्के। भुर्जुन भोटेको खोजबिन हुँदै थियो। सानु बन परिवारसहित गायब भए।

त्यहीबेला सनम शाक्य सालाको बिहे छ भनेर गोरेसँग विदा भए। भोलिपल्ट २० किलो सुन प्रहरीले एयरपोर्टबाट समातेको खबर आयो। गोरेले सुन प्रहरीले समात्यो सबैजना सेभ बस्नु भने। सुन फेला परेको हल्लामात्रै रहेछ भन्ने थाहा पाएपछि फेरि उनीहरूले सानु बनलाई खोज्न थाले। सानु बनको टिममा एयरपोर्टभित्रका कर्मचारी तक्ले, एलबी मगर, बालकृष्ण खत्रीलाई सोधपुछ गर्न थाल्यौं’, मल्लले बयानमा भनेका छन्– ‘सानु बन गायब भएको ४ दिनपछि एयरपोर्टमै रहेको कुरा थाहा भयो। म, गोरे, लाक्पा शेर्पा, भविन राई, रोहित आचार्यलगायत एयरपोर्टको गेटबाहिर बस्यौं।’

सानु बनलाई बोलाउन एलबी मगरलाई एयरपोर्टभित्र पठाइयो। मगरले सानु बन बाहिर नआउने भने। सानु बनलाई बोलाउन मगर फेरि गए। तरपनि बन आएनन्। केही मिनेटपछि नेपाल आयल निगमको ट्याङकरले किचेर सानु बनको मृत्यु भयो भन्ने खबर आयो।

यसरी भयो सनम शाक्यको हत्या

सानु बनको ट्याङकरले किचेर मृत्यु भएपछि गोरे, रुस्तम मियाँ, लाक्पा शेर्पा, दावा शेर्पा, रोहित आचार्य र भोजराज भण्डारी कोही ट्याक्सीमा र कोही नाइट बसमा पूर्वतर्फ हानिए। उनीहरू पूर्वतिर आएकोे मोहन काफ्ले र सनम शाक्यले थाहा पाए। उनीहरू भागेर आसामतिर गए। यो कुरा थाहा पाएपछि गोरेले उनीहरूको परिवारलाई कहाँ छ बोलाऊ भनेर दबाब दिए। परिवारलाई दबाब दिएको थाहा पाएपछि उनीहरू गोरेको सम्पर्कमा आए।

सिलगुढीमा गोरेको सनम र मोहनसँग भेट भयो। त्यहाँ अलिअलि कुटपिट पनि भयो। अरूसँग पनि सोधखोज गर्दा मोहन, सनम, रुस्तम मियाँ, कृष्ण भन्ने नरेन्द्र कार्कीमाथि गोरेको शंका बढ्यो। उनले कुरा निकाल्न नयाँ उपाय लगाए, सबैजना पिकनिक जाने। उर्लाबारी नजिकैको जंगलमा पिकनिक गए। त्यसपछि धरानमा रहेको निर्वाना क्लबमा बसे। उनीहरू जहाँजहाँ बस्थे गोरेले सुन पत्ता लगाउन एकअर्कालाई कुट्न लगाउँथे। कहिले सनमले पिट्थे कहिले पिटाइ खान्थे।

एकले अर्कालाई पिट्दा खासमा सुन हराउनमा सनम, नरेन्द्र र मोहनको हात छ भन्ने निष्कर्षमा गोरे पुगे। भविन राईले सुन हराएको दिन सनम शाक्य काठमाडौंमा नै रहेको बतायो। सुन हराएको जानकारी पाउँदासमेत पूर्व छु भनी सनमले ठगेको मोहन र नरेन्द्रलाई थाहा भएको पत्ता लाग्यो। सालोको विहेमा उर्लाबारी जान्छु भनी सनम निशासिंह ठकुरीसँग काठमाडौंको होटलमा बसेको कुरा खुल्यो।

त्यसपछि पनि गोरेले उनीहरूलाई सँगै लिएर हिँडे। उनीहरू फरक–फरक गाडीमा हिँड्थे। ‘फागुन १८ गते उर्लाबारी १ कान्छीचौक सोल्टीखोला नजिकको चउरमा पुग्दा गोरे पहिले नै पुगिसकेका रहेछन्’, ठकुरीले भनेका छन्– ‘मोहन काफ्लेको हातखुट्टा बाँधी गोरेले पाइपले कुट्दै थियो। सनम र नरेन्द्र म चढेको गाडीमा थिए। उनीहरूलाई पनि गाडीबाट निकालेर हातखुट्टा बाँधी पाइपले कुट्न थाले।’

मान्छेले देख्ने भएपछि काफ्ले र शाक्यलाई जंगलमा लगियो। रूखमा बाँधेर कुटियो। फेरि गाडीमा राखेर करेन्ट लगाइयो।

सनम बेहोस भए तर सुनबारे मुख खोलेनन्। ठकुरीले गोरेलाई भने सनम त बेहोस भयो। सुनबारे नबोलेसम्म करेन्ट लगाउन नछोड्नु भन्ने गोरेको निर्देशन थियो।

‘सनमको सास बन्द भयो। मर्यो कि भनी हेर्दा धड्कन नचलेपछि मर्न त दिनु हुन्न भनेर हतारहतार ड्राइभरलाई ग्लुकोज लिन पठाए’, उनले बयानमा भनेका छन्– ‘ग्लुकोज लिएर आउँदासम्म सनम मरिसकेको थियो। अब के गर्ने भन्ने सल्लाह भयो।’

केहीले सनमको लास कोशी वा त्रिशूलीमा फालिदिनुपर्छ भने। कसैले काल्पनिक एक्सिडेन्टजस्तो बनाएर छाडिदिनुपर्ने बताए।

‘तर गोरेले जंगलमै खाल्डोमा पुर्नुपर्छ भनेर लाक्पा शेर्पा र टुकबहादुर मगरलाई खाल्डो खन्न लगायो। अलिकति खनेपछि उसले कता फोन गर्यो र खाल्डो खन्न छोड्दे भन्यो’, ठकुरीले भनेका छन्– ‘उनीहरू गाडीमा लास बोकेर धरानको निर्भाना कन्ट्री क्लब पुगे। कोही बियर खान थाले, कोही गफमा भुले।’

मल्लको बयानअनुसार उनीहरूको योजना धरानबाट बिहानमात्र हिँड्ने थियो तर कसैले गोरेलाई फोनमा सनम मरेको कुरा उर्लाबारीमा थाहा भइसकेको सुनायो। अरू तितरबितर भए। गोरे र मल्लचाहिँ सँगै थिए।

सनमको करेन्ट लगाउँदा लगाउँदै मृत्यु भएपछि शव लुकाउने जिम्मा गारेले ठकुरीलाई दिए। उनले शाक्यको लासमाथि तौलिया राखी बिरामी भएको जस्तो देखाई ठकुरीले गाडी धरानको निर्भाना कन्ट्री क्बलतिर लगे। ठकुरीसँगै सुरेन्द्र गौतम, टुकबहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा अन्य गाडीमा कन्ट्री क्लबमा आए।

क्बलमा पुगेपछि कोही वियर खान थाले कोही गफ गरेर बस्न थाले। सनम मरेको खबर उर्लाबारीमा हल्ला भएको जानकारी पाएपछि भविन राई, रुस्तम मिया, रोहित आचार्य र राजन भन्ने ड्राइभरलाई गोरले ३/३ हजार दिएर काठमाडांै पठाए। मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीले घटनाबारे कसैलाई जानकारी नदिने गोरेलाई भनेपछि मे १ च ५३९५ नं.को टाटा हाइलेक्स गाडी लिएर उनीहरू घर गए।

एकछिनमा गोरेले सञ्जेल (सई बालकृष्ण संजेल) मामालाई फोन गरे। सनमको मृत्यु भएको जानकारी गराए। ‘मामा केस मिलाइदिनु तपाईंलाई २ करोड दिन्छु भन्दै फोन राखे। ‘फोन राखेपछि गोरेले मलाई सनमको लास जिम्मा लेऊ, तिम्रो परिवारलाई ५० लाख दिन्छु र सेटल पनि गरिदिन्छु भने। मैले हुन्छ भनें’ –मल्लको बयानमा उल्लेख छ। लास जिम्मा लगाउँदा गोरेले अपराध महाशाखाका प्रहरीसँग सबै कुरा भइसकेको र टोली नआउन्जेलसम्म धरानमा लास घुमाउँदै बस् भने।

‘महाशाखाबाट प्रहरीको टोली आइपुगेपछि तँलाई भेटेर सबै कुरा उनीहरूले नै मिलाउछन्। तैँले चिन्ता लिनु पर्दैन। तँलाई जसरी पनि अदालतबाट निकाल्ने काम मेरो हो भनी मलाई विश्वास दिलायो। त्यसपछि म गाडी लिएर निस्कें’ –उनले बयानमा भनेका छन्।

गोरेले मामा भन्ने सई सञ्जेल डीएसपी प्रजित केसीसँगै आए। उनीहरूसँग १ रात होटलमा बसेको बयान पनि ठकुरीले दिएका छन्। ‘इटहरीको स्वस्तिका होटेलको कोठा नम्बर ५०६ मा केसी, ५०९ मा प्रहरी जवान मेष राना, प्रहरीको गाडी चालक र म बस्यौं। सञ्जेल मामा ५१० मा बसे’ –उनले बयानमा भनेका छन्।

‘प्रहरी टोलीसँग लास कतै जंगलमा लिएर फाल्ने कुरा भयो। दुहवी आएपछि केसीले मेष रानालाई फोन गरें। उनले जंगल खोजेर लासको व्यवस्थापन गर्न भने। त्यसपछि हामी दुहवी बजारबाट दाहिनेतर्फ गयौं’ –उनको बयानमा उल्लेख छ।जंगल नभेटिएपछि विराटनगरतर्फ आउँदै गर्दा आफूसँगै बसेका प्रहरीले हतकडी लगाएर पक्रेको ठकुरीले बयान दिएका छन्।
(टेकराज मल्ल ठकुरीले प्रहरीलाई दिएको बयान)

 

प्रतिक्रिया दिनुहोस्