नुवाकोटमा पनि यातायात बन्दको प्रभाव, समस्यामा यात्रु



शालिकराम चालिसे, नुवाकोट ।

सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीहरुले गरेको यातायात बन्दको प्रभाव नुवाकोटमा पनि देखिएको छ । विहानैदेखि नुवाकोटमा सार्वजनिक यातायातका साधनहरु ठप्प भएका छन् ।

नुवाकोटका केही स्थानमा केरुङ यातायातले सेवा दिएपनि त्यो नगन्य रुपमा रहेको पाइएको छ । सवारी साधन ठप्प हुँदा यात्रुहरु मर्कामा परेका छन । सर्वाधिक सिन्डिकेट रहेको नुवाकोट र रसुवाको सडकहरुमा पासाङ ल्हामु यातायातले एकलौटी राज गर्दै आएको छ । जसले गर्दा सार्वजनिक यातायात ठप्प भएको हो ।

सार्वजनिक यातायात ठप्प हुँदा कक्षा १२ को परीक्षार्थीहरु बढी प्रभावित भएका छन । त्यस्तै वृद्दवृद्दा, अशक्तm र अपाङ लगायतका व्यक्तिहरुलाई असर गरेको छ । सार्वजनिक यातायात नचल्दा नुवाकोटको बेत्रावति, त्रिशुली, विदुर, बट्टार र देविघाट लगायतका लामो र छोटो दुरीका यात्रुहरु मर्कामा परेका छन ।

नुवाकोटको सडकहरुमा एकछत्र राज गरिरहेको पासाङ ल्हामु यातायातको दादागिरीको विषयमा वेलावेलामा गुनासो गर्दै आइरहेका यात्रुहरुले अबको दिनमा पासाङ ल्हामु यातायातको विकल्प खोज्न समेत प्रशासन तयार रहनुपर्ने बताएका छन । पासाङ ल्हामु यातायातको सिन्डीकेटको अन्त्य हुनपर्ने यात्रु रमेश खत्रिले बताए । उनले पासाङ ल्हामु यातायातले सेवा प्रवाहभन्दा नि पैसामुखी सेवा दिइरहेको गुनासो गरे ।

यसैबिच सरकारले यातायात सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिएको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्चय गरेको थियो ।

तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् । यसले गर्दा सरकार र यातायात व्यवसायीबीचको द्धन्द्धको चपेटोमा जनता परेका छन् ।

प्रतिक्रिया दिनुहोस्