फेरि इन्धनको मूल्य वृद्धि



काठमाडौं, (नेस)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि इन्धनको मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।

स्वचालित मूल्यअनुसार निगमले बढाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर २ रुपियाँ, डिजेल र मट्टिलेल ३ रुपियाँ वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाउनु भएको छ, उहाँका अनुसार नयाँ मूल्य बुधबार राती १२ बजेदेखि लागू हुने गरी निगमको बोर्डले मूल्यसूची निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपियाँ, डिजेल र मटितेल प्रतिलिटर क्रमशः ९० रुपियाँ कायम गरिएको निगमले जनाएकोछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै फेरबदल नगरिएको निगमको भनाइ रहेको छ।

यसअघिक प्रतिलिटर पेट्रोलको मूल्य १ सय ६ रुपियाँ, डिजेल ८७, मट्टितेल ८७ रुपियाँमा बिक्री वितरण हुँदै आएको थियो । नयाँ मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपियाँ ९० पैसा नाफा छ। डिजेल र मट्टितेलमा भने १ रुपियाँ २२ पैसा घाटा छ। एलपी ग्यासमा निगमलाई ६४ रुपियाँ २९ पैसा घाटा रहेको निगमले जनाएको छ। ग्यास अहिले १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको छ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ९५ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १ अमेरिकी डलर नै राखिएको निगमले जनाएको छ। भारतीय आयल निगमले अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउदै आएको छ। विगतमा मूल्य बढाउँदा विरोघ र घाटा झेल्दै आएपछि तत्कालीन सरकारले २०७१ असोजमा स्वाचित मूल्य लागू गरेको थियो। नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बढेकाले पनि अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन गर्दा नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको बताइएको छ।

नेपाल आयल निगमका निमित्त प्रमुख सुशील भट्टराईले अमेरिकी डलरमा आएको बढ्दो क्रमले पनि नेपाली बजारमा ठूलो मूल्यको उतार चडाव आउने गरेका बताउनुभयो।

विगतमा पनि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेसँगै नेपाली बजारमा मूल्य समायोजनपछि हरेक महिना इन्धनको मूल्यमा वृद्धि भएको थियो। निगमलाई पाक्षिक रूपमा १० करोड ५५ लाख नाफा हुने आँकलन गरिएको छ। नयाँ मूल्यअनुसार भारतमा भन्दा नेपालमा पेट्रोलमा २१ रुपियाँ ९२ पैसा र डिजेलमा २४ रुपियाँँ ६१ पैसा मूल्य फरक रहेको छ।नेपाल भारतको खुल्ला सिमानका कारण भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थ नेपाल हँुदै भारत नै पैठारी हुने गरेको कारणले पनि नेपालमा पेट्रोलियम पदार्थ धेरै खपत हुने गरेको निगमको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्