विलियमलाई ‘बेस्ट म्यान’ बन्न आग्रह



लन्डन, (एजेन्सी)
बेलायतका राजकुमार ह्यारीले आफ्ना दाजु राजकुमार विलियम, ड्युक अफ क्याम्ब्रिजलाई मेगान मार्कलसँग हुन गइरहेको आफ्नो विवाहमा दुलाहाको साथी बनिदिन अनुरोध गरेका छन्।

केसिंग्टन प्यालेसले उक्त खबर ट्विटरमार्फट सार्वजनिक गरेको हो। ‘बेस्ट म्यान‘का लागि दाजु विलियमको चयन गर्नु आश्चर्य भने होइन। उनले पनि सन् २०११ मा क्याथरिन, डेचेस अफ क्याम्ब्रिजसँगको विवाहमा विलियमका लागि समान भूमिका निर्वाह गरेका थिए। केन्सिङ्ट प्यालेसले त्यतिबेलाको अत्यन्त आकर्षक तस्वीर पनि सेयर गरेको छ। उक्त आग्रह आउनु विलियमका लागि सम्मान भएको र उनको भाइको सहयोगका लागि उनी अत्यन्त उत्सुक रहेको उल्लेख गरेको छ।

अमेरिकी अभिनेत्री मार्कल र ह्यारीले नोभेम्बरमा उनीहरूको इन्गेजमेन्ट भएको घोषणा गरेका थिए। उनीहरूबीच मे १९ मा विन्डसोर क्यासलको सेन्ट जर्जस् च्यापेलमा विवाह बन्धनमा बाँधिने छ।

यसै हप्ता मात्र विलियमले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका थिए। उनले अहिलेसम्म आफ्नो भाइका लागि ब्याचलर पार्टी आयोजना गर्ने विषयमा कुनै प्रतिबद्धता व्यक्त गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्