लैंगिक समानता कसरी ?



कपिल काफ्ले

घर–परिवार र समाजमा लैङ्गिक समानता किन चाहियो भन्ने प्रश्नको जबाफ हरेक सचेत नागरिकलाई थाहा छ। तर, लैङ्गिक समानताका लागि महिला, पुरुष र अन्य लिङ्गीहरूको भूमिका के हुनुपर्छ, यसलाई कसरी हासिल गर्न सकिन्छ भन्ने सवालमा भने छलफल चलाउनु आवश्यक हुनसक्छ।

नेपालको संविधान २०७२ ले ‘जेसी’ अवधारणालाई आत्मसात् गरेको छ। कुनै एक धारामा मात्र यसको प्रावधान राखेर केवल औपचारिकता पूरा गरिएको छैन, ठाउँ–ठाउँमा यसको उल्लेख छ– लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई लोकतान्त्रिक अभ्यासको आधार बनाउने प्रयास भएको छ। यसरी हेर्दा सरकार वा नीतिगत स्तरमा काम भएको छ, तर नागरिकले चाहिँ यस अवधारणाको कार्यान्वयनका लागि के भूमिका निर्वाह गरिहेका छन्– आत्ममूल्यांकन गर्नु आवश्यक भएको छ। लैङ्गिक समानताका पक्षमा केही उल्लेख्य सफलताहरू पनि देखिन्छन्।

छोरा–छोरीलाई विद्यालयमा पढ्न पठाउने कार्यमा नेपालीले साँच्चिकै प्रगति गरेका छन्। विगतको दशकलाई दाँजेर हेर्दा यसमा प्रस्ट प्रगति भएको देखिन्छ। यस प्रकारको प्रगति कसरी सम्भव भयो भनेर हेर्दा सरकार र जनता दुवैको चाहना र योगदानले काम गरेको पाइन्छ। नीति मात्र बनाएर नहुने रहेछ, राज्यको मात्र चाहनाले परिवर्तन हुनसक्ने रहेनछ भन्ने उदाहरण बनेको छ– छोराछोरीलाई पैत्रिक सम्पत्ति बराबर बाँड्ने विषय। छुवाछूतको अन्त्य पनि यस्तै तीतो अनुभवको सवाल हो। नागरिकको चेतनास्तर र तत्परता कानुनको आशयसम्म पुग्न सकेको छैन। प्रस्ट छ, हरेक नेपाली नागरिक परिवर्तनका लागि तत्पर नभएसम्म सामाजिक विकासका आयामहरू सफल हुन सक्तैनन्। त्यसैले, लैङ्गिक समानतामा पूर्ण सफलता चाहने हो भने हरेक नागरिकले यसका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिनु आवश्यक छ। जस्तो– पछिल्लो उदाहरण लिने हो भने, सात महिला पत्रकारले ज्यानको बाजी लगाउँदै सगरमाथा आरोहण थालेको प्रसंगलाई लिन सकिन्छ।

सातमध्ये पाँच महिला पत्रकार एक टोलीमा आबद्ध भएर आरोहण गर्दै छन् भने दुई पत्रकारले एक्लाएक्लै यात्रा अघि बढाएका छन्। नेपाल पत्रकार महासंघलाई प्रस्ताव–पत्र पेस गरेर महिला पत्रकार टोलीले आरोहण थालेको हो। महासंघले पनि पत्रकार महिलालाई हार्दिक बिदाई गर्दै प्राविधक सहयोग पनि ग¥यो। सगरमाथा आरोहणको इतिहास तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीले मे २९, १९५३ मा लेख्न शुरु गरेपछि आजसम्म हजारौंंले यो काम गरिसकेका छन्, तर महिला पत्रकार टोलीकै सराहना किन आवश्यक बन्यो भने, उनीहरूले लैङ्गिक समताका लागि यो कठिन यात्रा प्रारम्भ गरेका छन्। नागरिक स्तरबाट लैङ्गिक समानताका लागि योगदान भएको छ।

‘समताका लागि एकीकृत आवाज’ नाराका साथ थालिएको यस यात्राको लक्ष्यअनुसार यही वैशाख अन्त्यसम्ममा सफल आरोहणको खबर सुन्न सकिने छ। मे महिनाको पहिलो साता सगरमाथा आरोहण गर्ने महिला पत्रकारहरूको कार्यतालिका रहेको छ। प्रस्ताव–पत्रको पृष्ठभूमिमा भनिएको छ, मिडियाको काम समाजका लागि आवश्यक तर नसुनिएका आवाज सुनाउनका लागि हो, लैङ्गिक समता र समानताको आवाज सुनिएको छैन, त्यसलाई सुनिने बनाउनका लागि उनीहरूले यो यात्रा शुरु गरेका हुन्।

‘आईएएफजेले २०१५ मा गरेको सर्वेक्षणले एसिया प्यासिफिकमा केवल २४ प्रतिशत मात्र पत्रकार महिला रहेको देखाएको छ। यसरी हेर्दा चारमा एक महिला र तीन पुरुष पत्रकार छन्। नेपालमा पत्रकार महिला निर्णायक तहमा पुगेका छैनन् र जति कामकाजी पत्रकार महिला छन् उनीहरू तलब सुविधाका हिसाबले पनि विभेदमा छन्। कार्यस्थलमा पत्रकार महिला यौनहिंसाको सिकार भएका छन्। महिला पत्रकारलाई प्रोत्साहित हुने गरी मिडिया हाउसहरूमा काम गर्ने वातावरण तयार भएको छैन। हजारौं नेपाली सम्पादकहरूको भीडमा केवल ९७ महिला सम्पादक छन्। जाति, धर्म, रंग, वर्ण र सम्प्रदायभन्दा माथि उठेर हामी पाँच महिला पत्रकार लैङ्गिक समता र समानताको आवाज घन्काउन सगरमाथा आरोहण गर्दैछौं’, प्रस्ताव–पत्रमा पत्रकार महिला टोलीले उल्लेख गरेको छ।

६ करोड वर्ष पुरानो मानिएको ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथा आरोहण जोखिम मोलेर सफलता हासिल गर्ने प्रयोजनले महत्वपूर्ण छ। १३ वर्षका बालकदेखि ७६ वर्षका वयष्कसम्मले आरोहण गरेको सगरमाथाको थाप्लोमा आजसम्म ४ हजारभन्दा बढी आरोहीले टेकिसकेको गुगल विवरण छ। आप्पा शेर्पाजस्ता २१ पटक आरोहण गर्ने बहादुर, जुनको ताबेई नामकी प्रथम महिला आरोही, पासाङ लामु शेर्पा प्रथम नेपाली महिला आरोही, आङ छिरिङ शेर्पा पहिलो नेपाली पत्रकार, शैली बस्नेत प्रथम नेपाली महिला पत्रकार आदि सगरमाथा आरोहणसँग सम्बन्धित सयौं रेकर्डहरू फेला पर्दछन्। तर, महिला पत्रकार सगरमाथा आरोहण टोली भने यसै पटक मात्र हो।

मोरङकी रोशा बस्नेत, वर्ष २९, आबद्धता राष्ट्रिय समाचार समितिमा सम्पादक, काठमाडौंकी प्रियालक्ष्मी कार्की, उमेर २७, आबद्धता न्यूज ट्वेन्टिफोर टेलिभिजन, ललितपुरकी कल्पना महर्जन, उमेर ३३, आबद्धता मेघा टेलिभिजन, काठमाडौंकै रोजिता बुद्धाचार्य, उमेर २६, आबद्धता एफएम रेडियो तथा नेपाल टेलिभिजन र पाँचथरकी देउराली चाम्लिङ, उमेर ३५, आबद्धता ब्लास्ट दैनिक, धरान टाइम्स र स्वतन्त्र पत्रकारिता गरी पाँच सदस्यीय टोली लैङ्गिक समानताको नारा घनीभूत बनाउने अभियानमा लागेको छ।

उनीहरूको प्रस्ताव–पत्रमा भनिएको छ, ‘महिलाहरू दबाबमा काम गर्न, जोखिम मोल्न, हिम्मतिला काम गर्न र आँट देखाउन सक्तैनन् भन्ने मान्यतालाई परास्त गर्न हामी सगरमाथा आरोहण गर्दैछौं।’ महिलालाई ‘तिमी सक्तिनौं’को अवधारणाबाट ‘तिमी सक्छ्यौं’को अवधारणामा ल्याउनु भिजन र ‘हामी समान छौं, हामी सक्षम छौं’ लाई मिसन बनाएर अघि बढेको यस टोली र अन्य दुई पत्रकार महिला डोमा शेर्पा र पूर्णिमा श्रेष्ठ जो समान उद्देश्यका साथ सगरमाथा यात्रामा छन्, नेपाल पत्रकार महासंघले उनीहरू सबैलाई लैङ्गिक समानता पत्रकारिता पुरस्कार २०७४ प्रदान गर्ने घोषणा गरेको छ।

अमेरिकामा क्रियाशील मदरल्यान्ड नेपाल नामक संस्थाका लागि त्यसका संस्थापक अध्यक्ष अनिल पाण्डेले १० लाख रुपियाँको अक्षय कोष नेपाल पत्रकार महासंघमा जम्मा गरी यस पुरस्कारको स्थापना गर्नुभएको हो। विगत डेढ दशकदेखि नेपाली पत्रकारिता र पत्रकारका लागि मदरल्यान्ड नेपालले आर्थिक सहयोग जुटाउँदै आएको सन्दर्भमा २०७३ सालमा यो अक्षय कोष खडा गरेको हो। पहिलो वर्ष चर्चित पत्रकारद्वय धीरेन्द्र प्रेमर्षी र बबिता बस्नेत यस पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो भने यसपटक सात महिला पत्रकार पुरस्कृत हुनुभएको छ। लैङ्गिक समानताका लागि योगदान दिने गरी कलम चलाउने एक महिला र एक पुरुष पत्रकारलाई वार्षिकरूपमा प्रदान गरिने यो पुरस्कार यसपटक विशेष अवस्थाका कारण सात महिला पत्रकारलाई प्रदान गरिएको हो। निर्णायक मण्डलमा रहेको एक सदस्यका हैसियतले यो पंक्तिकार पनि पुरस्कारका लागि उपयुक्त पात्रहरूको छनोट गर्न पाएर प्रसन्न छ।

निष्कर्षमा, लैङ्गिक समानताको अवधारणा सफल पार्ने हो भने यसरी नै नागरिक स्तरबाट पनि योगदान दिनुपर्छ भन्ने यस आलेखको आशय हो। मदरल्यान्ड नेपालका अनिल पाण्डे हुन् वा सगरमाथा आरोही सात पत्रकार महिला वा पत्रकार महासंघजस्ता संस्थाहरू, सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नै पर्छ। संविधानमा छ, कानुनमा लेखियो र अन्तर्राष्ट्रिय महासन्धिहरूमा हस्ताक्षर गरियो भनेर मात्र लक्ष्य हासिल हुन्न, पुरस्कृत गर्ने अभ्यासले
पनि लैङ्गिक समानताको अभियानलाई सघाउनेछ।

प्रतिक्रिया दिनुहोस्