कांग्रेसको अबको बाटो



इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको नेपाली कांग्रेसभित्र हालै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनको गम्भीर समीक्षा गर्दै भावी कार्यदिशाबारे विस्तृत केन्द्रीय समिति बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने तयारी भैरहेको छ। नेपालमा भएको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस सबैभन्दा कमजोर भएपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा केन्द्रीय सदस्यहरूले लिखित तथा मौखिक धारणा राख्ने क्रममा विस्तृत खाका प्रस्तुत गरेका छन्। निर्वाचनपछि कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर भएको छ। गुट–उपगुटमा विभाजित रहेको कांग्रेसलाई अबको बाटो निकै चुनौतीपूर्ण छ।

कांग्रेसले पाँच वर्षपछि हुने निर्वाचनमा बहुमतसहित सबैभन्दा ठूलो दलको हैसियत कायम राख्ने उद्देश्य राखेको छ। यसको लागि कांग्रेसले आजैदेखि धेरै कुरामा सुधार गर्दै अघि बढ्नुपर्छ। यसको लागि कांग्रेसले आफ्नो नीति, सिद्धान्त आमजनतासमक्ष लैजानु त छँदै छ, त्यसभन्दा पहिले पार्टी संरचनालाई बलियो र विधि–विधानअनुसार अघि बढाउनुपर्छ। मुलुक संघीयतामा गइसकेको छ तर कांग्रेसको संगठनिक संरचना संघीय व्यवस्थाअनुसारको छैन। नेतृत्वले पार्टी विधानले निर्देशित गरेअनुसार मात्र अघि बढाएको भए पनि कांग्रेस यति कमजोर नहुने विश्लेषण हुँदै आएको छ। सरकारमा नभए पनि प्रतिपक्षको भूमिकाबाट धेरै प्रभाव पार्न सकिने भएकाले प्रभावकारी प्रतिपक्षको भूमिका निभाउनु कांग्रेस सुधारको अर्को पाटो हो। कांग्रेसभित्र राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएका कैयौं नेताहरू भए पनि उनीहरूलाई पार्टी नेतृत्वले अवसर नदिनुले पनि कांग्रेस कमजोर भएको देखिन्छ।

विगतमा भएका कमी–कमजोरीको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने मात्र हैन, कांग्रेसले समयानुकूल विधान परिमार्जनसमेत गर्न सकेको छैन। पार्टीभित्र अन्तरकलह व्यापक छ। यसलाई रोक्न सकेको छैन। पार्टीको संगठनिक संरचना भताभुंग छ। तर पनि नेतृत्वमा रहेका नेताहरू आरोप–प्रत्यारोपमै रमाइरहेका छन्। कांग्रेसभित्र हालै युवा नेताहरूले विगतको समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ५१ पृष्ठको छुट्टै लिखित धारणापत्र प्रस्तुत गरेका छन्। यो अवधारणामा विगतदेखि वर्तमान र भविष्यसम्मको विस्तृत समीक्षा गरिएको मात्र छैन, आगामी पाँच वर्षभित्र कांग्रेसलाई कसरी कहाँ पुर्याउने भन्ने मार्गचित्रसमेत छ। यस अवधारणामा आरोप–प्रत्यारोपभन्दा पनि साँच्चिकै कांग्रेसलाई राम्रो, बलियो र भरपर्दो पार्टी बनाउने मार्गचित्र रहेको छ। यो अवधारणाअनुसार कांग्रेसले अबको बाटो तय गरेमा सबै कम्युनिस्टहरू एकढिक्का भए पनि कांग्रेस एक्लै ठूलो दलको हैसियत कायम गर्न सक्ने र मुलुकको नेतृत्व गर्नमा बाटो पहिल्याउन सक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्