कानुन निर्माण नै स्थानीय तहको पहिलो उपलब्धी



धनवीर दाहाल, रुकुम ।
स्थानीय तहको निर्बाचन सम्पन्न भएको एक बर्ष पुग्नै लागेको छ । यति बेला हरेक स्थानीय तहका जनप्रतिनिधिलाई एक बर्षमा कति उपलब्धी भए भन्ने प्रश्न गर्दा उनीहरुको एउटै उत्तर “हामीले कानुन निर्माण गर्यौं” भन्ने आउँछ ।

रुकुमका स्थानीय तहहरुले कानुन निर्माण पहिलो उपलब्धी भएको बताएका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले एक वर्षको अवधिमा २४ वटा कानुन निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा भएका दुई वटा नगर सभाबाट २४ वटा कानुन पारित भएको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।

यस्तै रुकुम पश्चिमकै चौरजहारी नगरपालिकाले १४ वटा कानुन पारित गरेको छ । एक बर्षको अवधिमा १४ वटा कानुन निर्माण गरिएको चौरजहारी नगरप्रमुख बिशाल शर्माको भनाई छ । आठबिसकोट नगरपालिकाले सबै भन्दा धेरै ४० वटा कानुन निर्माण गरेको छ । निबार्चित भएपछि ४० वटा निर्माण गरेको नगरप्रमुख गोर्खबहादुर के.सीले जानकारी दिनुभयो ।

रुकुम पुर्वका ३ स्थानीय तह र रुकुम पश्चिमका ६ स्थानीय तहले बिशेष गरी कार्यपालिकाका पदाधिकारीको आचारसंहिता, सभा सञ्चालन कार्यविधि, नगरपालिका तथा गाँउपालिका आर्थिक ऐन, कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यपालिकाको कार्य विभाजन, कार्य सम्पादन नियमावली र विनियोजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, शिक्षा विधेयक र सहकारी विधेयक लगाएत पारित गरेका छन् ।

बाँफिकोट गाँउपालिकाले ९ वटा कानुन पारित गरेको छ । स्थानीय तहले पारित गरेका हाल सम्मका कानुनहरु सबैको जानकारीका लागी वेभसाइटमा राखिने बाँफिकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो । यस्तै सानीभेरी गाँउपालिकाले पनि ३० वटा कानुन निर्माण गरेको छ ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले नौ महिनामा २७ कानुन बनाएको छ । गाउँसभाको नियमित र विशेष अधिवेशनमार्फत ऐन, नियम, नियमावली, कार्यविधि, निर्देशिका, विनियम लगायत २७ कानुन बनाएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको नमुना कानुनका आधारमा रुकुमका सबै स्थानीय तहले कानुन निर्माण गरेका हुन् ।

रुकुम पुर्वमा सिस्ने गाँउपालिका, पुथाउत्तरगंगा गाँउपालिका र भुमेगाँउपालिका गरी ३ स्थानीय तह छन् भने रुकुम पश्चिममा मुसिकोट, आठबिसकोट, चौरजहारी नगरपालिका तथा बाँफिकोट, त्रिबेणी र सानीभेरी गाँउपालिका गरी ६ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्