७ नम्बर प्रदेशमा स्वास्थ्य बिमा: ३१ हजार आवद्ध, १ करोड रुपैंया संकलन



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीसहित प्रदेश नं ७ (सुदूरपश्चिम)का ३१ हजार बढी नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७६४ परिवारका ३१ हजार ४६८ व्यक्ति स्वास्थ्य बिमामा आवद्ध भएका हुन् ।

प्रदेश नं ७ मा बैतडी, कैलाली,अछाम र बाजुरा गरी ४ जिल्लामा उक्त कार्यक्रम लागु भएको स्वास्थ्य बिमा बोर्ड, प्रदेश नं ७ का संयोजक जनक साउँदले जानकारी दिनुभयो । सबैभन्दा बढी कैलालीका २४ हजार ९३० जनाले स्वास्थ्य बिमा गरेका छन् । जसमा ४ हजार ४३८ परिवार रहेका छन् । यस्तै बैतडीमा ७८० परिवारका ३ हजार ८३० जना आवद्ध रहेका छन भने अछामका ५४६ परिवारका २ हजार ७०८ जनाले स्वास्थ्य गरेका छन् ।

बाजुरामा भने गत चैत २५ गतेमात्रै स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोले रिपोर्ट आउन बाँकी रहेको छ । यसरी हेर्दा प्रदेश नं ७ मा स्वास्थ्य बिमा लागु भएका ४ जिल्लाको १२ लाख ८४ हजार ८४ कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत मात्रै नागरिक स्वास्थ्य बिमामा आवद्ध रहेका छन् ।

१ करोड ३५ लाख संकलन

स्वास्थ्य बिमावाट प्रदेश नं ७ मा १ करोड ३५ लाख ८ हजार ५०५ रुपैया योगदान रकम संकलन भएको छ । वि स २०७२ चैत २५ गते सुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म कैलालीमा ९४ लाख ८४ हजार ५६० रुपैया संकलन भएको छ । बैतडीमा वि स २०७३ पुस ७ गतेदेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा २४ लाख ८९ हजार ७४५ रुपैया संकलन भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश नं ७ को कार्यालय कैलालीले जनाएको छ । यस्तै वि स २०७३ पुस ९ गते सुभारम्भ भएको अछामवाट १५ लाख ३४ हजार २०० रुपैया योगदान रकम संकलित भएको छ ।

५२ लाख दाबी भुक्तानी

स्वास्थ बिमामा प्रदेश नं ७ मा संकलित १ करोड ३५ लाख ८ हजार ५०५ लाखमध्ये ३८ दशमलव ०७ प्रतिशत रकम सेवाप्रदायक संस्थाहरुलाई भुक्तानी दिईएको छ । बोर्डका प्रदेश नं ७ संयोजक जनक साउदका अनुसार कुल योगदानवाट उठेको रकमको ५२ लाख ३४ हजार ३४ हजार ९८० रुपैंया सेवाप्रदायक संस्थालाई दिईएको हो ।

जसमा कैलालीका ९ वटा सेवाप्रदायक संघसंस्थालाई ४५ लाख ३७ हजार ४४६, बैतडीका ५ सेवाप्रदायक स्वास्थ्य संस्थालाई ६ लाख ४९ लाख ५३१ र अछामका ४ संस्थालाई ४८ हजार २ रुपैंया भुक्तानी दिईएको जनाएको छ ।

४ सय बढी दर्ता सहयोगी

स्वास्थ्य बिमा कार्यक्रम लागु भएका प्रदेश नं ७ का ४ जिल्लामा ४ सय बढी दर्ता सहयोगी परिचालन गरिएका छन् । उनीहरुले आ आफ्नो वडामा घरदैलोमार्फत स्वास्थ्य बिमा दर्ता कार्यक्रम गरिरहेका छन् । स्वास्थ्य बिमा दर्ताका लागी कैलालीमा १६० जना दर्ता सहयोगी परिचालन गरिएका छन् । भने बैतडीमा ८८, अछाममा ९३ र बाजुरामा ६९ गरी जम्मा ४१० दर्ता सहयोगी परिचालन गरिएका स्वास्थ्य बिमा बोर्ड, प्रदेश नं ७ को कार्यालय कैलालीले जनाएको छ ।

प्रदेश नं ७ मा सेवाप्रदायक स्वास्थ्यसंस्थाहरु

बैतडीमा वि स २०७३ पुस ७ गतेवाट स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ भएको थियो । जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटन, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र उप क्षेत्रिय अस्पताल डडेल्धुरावाट सेवा लिन सक्ने जनाएको छ ।

नेपालकै पहिलो जिल्लाका रुपमा कैलालीमा वि स २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको होे । सेती अञ्चल अस्पताल ,मालाखेती अस्पताल,टिकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र,उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र,चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, गेटा आँखा अस्पताल र घोडाघोडी अस्पतालवाट सेवा लिन सकिने स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

अछाममा वि स २०७३ पुस ९ गते स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको थियो । जिल्लाअस्पताल अछाम, बयलपाटा अस्पताल, चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र , क्षेत्रिय अस्पताल सुर्खेत र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रवाट सेवा प्रदान भईरहेको छ ।

यस्तै बाजुरामा २०७४ चैत २५ गतेवाट स्वास्थ्य बिमा सुभारम्भ भएको हो । जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट बिमितहरुले सेवा लिन सक्ने जनाएको छ ।

ऐन आयो, नियमावली आएन

गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा स्वास्थ्य उपचार नपाउने गरिब , बिपन्न नागरिकका लागी सरकारले २०७२ चैत २५ गते कैलालीवाट स्वास्थ्य बिमाको सुभारम्भ गरेको थियो । स्वास्थ्य बिमा ऐन स्वीकृत भएको ७ महिना बितीसक्दा समेत नियमावली अझै आउन सकेको छैन। स्वास्थ्य बिमा ऐन, २०७४ गत बर्र्ष कात्तिक १ गते स्वीकृत भएको थियो ।

प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमामा आवद्ध हुनुपर्नेछ भनेर उक्त ऐनमा उल्लेख गरिएको छ । यस्तै प्रचलित कानुन बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बिमामा आवद्ध हुनुपर्नेछ ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकालाई स्वास्थ्य बिमा कार्यक्रम

गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

आर्थिक अवस्था कमजोर भएकालाई छुट

आर्थिक अवस्था कमजोर तथा गरिब तथा बिपन्न परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुँदा योगदान रकममा बिमा बोर्डले छुट समेत दिने गरेको छ । अति गरिबलाई शत प्रतिशत, मध्यम गरिबलाई ५० प्रतिशत, स्वास्थ्य स्वयंमसेविकाको परिवारलाई स्वास्थ्य बिमामा आवद्ध भए कुल योगदान रकमको रु २५० छुट दिईने बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमामा आवद्ध हुदा ५ जनाको परिवार बराबर २ हजार ५ सय कुल योगदान रकम लाग्ने गरेको छ । भने सो भन्दा बढी संख्या भएका परिवारले स्वास्थ्य बिमा गराउदा थप ४५० का दरले योगदान रकम लाग्ने गर्दछ ।

हाल १ हजार ११८ औषधीका प्रकारहरु औषधी स्वास्थ्य बिमा कार्यक्रममा सुचीकृत भएका छन् । यसका साथै सिटी स्क्यान,एमआरआई सुविधा पनि स्वास्थ्य बिमा कार्यक्रममा थपिएका छन् ।

साथै कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ बढी किसिमका सेवा पाउनेछन् ।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समिति मार्फत ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम हाल प्रभावकारी बन्दै गएको छ ।

भौगोलिक कठिनाई, गरीबी, नागरिकको चेतनास्तर लगायतका चुनौतिका बाबजुद पनि बिमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको प्रदेश नं ७ का संयोजक जनक साउदले बताउनुभयो । उहाँले भन्नुभयो ‘थुप्रै चुनौतिका बिच पनि हामीले जनतालाई बिश्वासमा लिन सफल भएका छौ ।’

गरिब नागरिकका लागि स्वास्थ्य विमा बढी आवश्यक हुने भएकाले बिमा गराएर पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह समेत गरिएको छ । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाईने भएकोले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।

सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्