विमस्टेक सम्मेलन यही वर्ष हुनेमा आशंका



टीका बन्धन, काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन यही वर्ष (सन् २०१८ भित्र) हुनेमा आशंका बढेको छ।

विमस्टेकको वर्तमान अध्यक्ष राष्ट्र नेपालले यसबारेमा सामान्य तयारीसमेत अघि बढाएको छैन। सम्मेलनको गृहकार्य र तयारीका लागि कम्तीमा ४ देखि ६ महिनाको अवधि आवश्यक हुने बताइन्छ। यसबारेको सामान्य पहल र सम्मेलनको सम्भावित मिति नेपालले सदस्य राष्ट्रलाई अहिलेसम्म प्रस्ताव नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

सरकार छिमेकी मुलुकसँगको सम्बन्ध विस्तार र उच्चस्तरीय भ्रमणको तयारीमा जुटेकाले यो विषय अहिलेसम्म प्राथमिकतामा नपरेको सो मन्त्रालयका एक अधिकारीले बताए। ‘अहिलेदेखि त्यस्तो तयारी अघि बढेको सुनिएको छैन, द्रुत गतिमा तयारी गर्दा पनि कम्तीमा ४ महिना तयारीमा जुट्नुपर्छ, दशैं÷तिहारअघि सम्मेलन हुने कुनै सम्भावना छैन।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। चौथो सम्मेलन २ वर्षअघि सन् २०१६ भित्रमा नेपालमा हुनुपर्ने थियो।

२ वर्षसम्म भूकम्प, पुनर्निर्माण, नाकाबन्दी र मुलुकभित्रैको आन्तरिक राजनीतिक कारण जनाउँदै नेपालले सम्मेलनका तयारीमा जुट्न नसकिने जनाउँदै आएको थियो। सबै सदस्य राष्ट्रको अनुकूलताका आधारमा सम्मेलनको मिति तय गर्ने प्रावधान छ। विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन्। सन् २०१४ को मार्चमा म्यानमारको ने पि तोमा तेस्रो शिखर सम्मेलन सम्पन्न भएपश्चात् नेपाल विमस्टेकको अध्यक्ष राष्ट्रको भूमिकामा छ।

चौथो सम्मेलनका लागि नेपालले यही महिनादेखि तयारी अघि बढाए पनि असोज पहिलो साता हुने संयुक्त राष्ट्रसंघको महासभामा सबै सदस्य राष्ट्र सहभागी हुने भएकाले दशैंअघि सम्मेलनको सम्भावना नरहेको जानकारहरू बताउँछन्। तर, यसपटक पनि सम्मेलनको मिति धकेलियो भने नेपालकै कमजोरी प्रस्ट झल्किने कूटनीतिक मामिलाका जानकार बताउँछन्। ‘२ वर्षसम्म विभिन्न कारण देखाउँदै सम्मेलन धकेलिए पनि यो वर्ष सम्मेलन गर्न नसक्ने त्यस्तो कुनै ठूलो कारण देखिँदैन, यसपटक पनि सम्मेलन भएन भने नेपालकै कमजोरी प्रमाणित हुन्छ।’ –एक परराष्ट्रविद्ले भने।

तर, परराष्ट्र मन्त्रालयका क्षेत्रीय महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल नेपाल सम्मेलनका लागि प्रतिबद्ध रहेको बताउँदै सम्मेलनको मिति घोषणा हुन मात्र बाँकी रहेको बताउनुहुन्छ। गत साउन २७ मा काठमाडौंमा सम्पन्न विमस्टेक सदस्य राष्ट्रका विदेश मन्त्रीस्तरीय १७औं बैठकले यही वर्षभित्र चौथो सम्मेलन गर्ने निर्णय गरेको थियो। डेढ वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका बेला विमस्टेकको चौथो सम्मेलन नेपालमा आयोजना गर्ने विषयको नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको थियो।

क्षेत्रीय व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, कृषि, सांस्कृतिक सहकार्यमा विमस्टेकका गतिविधि केन्द्रित छन्। त्यसै गरी वातावरण र प्रकोप व्यवस्थापन, जनस्वास्थ्य, गरिबी निवारण जस्ता क्षेत्रीय मुद्दामा पनि विमस्टेक केन्द्रित छ। विमस्टेक दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्प बन्न सक्ने आँकलन गर्न थालिएको छ।

भारत र पाकिस्तानको आन्तरिक कारणले सार्कको १९औं सम्मेलनको नयाँ मिति तय हुन नसकेको अवस्थामा भारतले विमस्टेकलाई महत्त्व दिन थालेको चर्चासमेत हुने गरेको छ। तर, एउटा क्षेत्रीय संगठनलाई ओझेल पारेर अर्को क्षेत्रीय निकाय कहिले पनि सफल र प्रभावकारी बन्न नसक्ने विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्