आयोगद्वारा सरकारसँग सुरक्षा माग



काठमाडौं, (नेस)
निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। आइतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई लक्षित गरी धापाखेलस्थित उहाँको घरमा बम विस्फोट भएको स्थितिलाई मध्यनजर गर्दै आयोगले सो माग गरेको हो।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार विज्ञप्ति जारी गरेर बम विस्फोट जस्ता घटनालाई ख्याल गरी प्रमुख आयुक्त र आयुक्तहरूको आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ– ‘प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशीघ्र छानविन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ।’

आयोगका अनुसार आइतबार प्रमुख आयुक्त यादवको घरमा भएको बम विस्फोटबाट पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको छ।

आयोगले विज्ञप्तिमा भनेको छ– ‘भर्खरै मात्र तीन तहका निर्वाचनलगायतका सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको दुःखद् घटनाबाट आयोग परिवार स्तब्ध भएको छ।’

प्रतिक्रिया दिनुहोस्