क्यान्सरपीडितको उपचारमा सेना



रोशन पराजुली, हेटौंडा

मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारीकी क्यान्सरपीडित ७० वर्षीया बुद्धिकुमारी राईको उपचारमा नेपाली सेनाले सहयोग गर्ने भएको छ। फापरबारीस्थित जनता मावि परिसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन आउनुभएकी राईको दायाँ हात भाँचिएर संक्रमणपछि क्यान्सर भएको प्रारम्भिक अनुमान शिविरमा खटिएका चिकित्सकहरूले गरेका थिए। बुद्धिमायाका आफन्तले पनि क्यान्सरको संक्रमण भएको भनी यसअघि चिकित्सकले बताए पनि उपचारका लागि आर्थिक अभाव भएका कारण घरमै राखेको बताएका छन्।

असोज १ गते खाटबाट लडेर हात भाँचिएपछि हेटौंडामा उपचार गराए पनि निको नभई हात सुन्निएर आएको बुद्धिमायाका भाइले बताउनुभयो। नेपाली सेनाका अधिकारीले क्यान्सरको संक्रमणको अवस्था हेरेर उपचारमा सक्दो सहयोग गर्ने जनाएको छ। स्वास्थ्य परीक्षण शिविरमा २ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

शिविरमा महिला स्वास्थ्यका विषयमा विशेष ध्यान दिइएको थियो। निःशुल्क औषधी वितरण गर्ने गरी आयोजना गरिएको स्वास्थ्य शिविरमा बुद्धिमायाबाहेक अरूमा गम्भीर किसिमका स्वास्थ्य समस्या नभेटिएको डा. अमीरमान शाक्यले जानकारी दिनुभयो। स्वास्थ्य शिविरको अवलोकनका लागि नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर सुपारेटार व्यारेकका पृतनापति प्रभुराम शर्मा पनि सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिकाका प्रमुख सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत राजु अर्याल, शिक्षक, सामाजिक अगुवाहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्