एकतामा आशंका: एमाले–माओवादी कार्यक्रमस्थलमै लफडा



मधुसूदन रायमाझी, काठमाडौं

पालमा कम्युनिस्ट पार्टी स्थापना दिवसकै दिन एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ब्यानरको विषयलाई लिएर विवाद भएको छ।
एमाले र माओवादी केन्द्रद्वारा संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सभागृहमा कार्यकर्ताबीच हात हालाहालको स्थिति पुग्यो। ६९औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एकता संयोजक समितिले आइतबार १२ बजेका लागि कार्यक्रम आयोजना गरेको थियो। तोकिएकै समयमा हल भरिए पनि एमाले र माओवादीका शीर्ष नेता आइपुगिसकेका थिएनन्। एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दुई अध्यक्षबीच वार्ता चालिरहेकाले एक बजेबाट मात्र कार्यक्रम शुरू हुने जानकारी गराए।

सभागृहको मञ्चमा प्रधानमन्त्रीसमेत रहनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठँलो फोटोसहितको ब्यानर टाँगिएको थियो। ब्यानरको बायाँपट्टि क्रमशः पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको सानो फोटो पनि ब्यानरमा समावेश गरिएको थियो। कार्यक्रम निर्धारित समयमा शुरू हुन नसकेपछि माओवादी केन्द्रका कार्यकर्ताले विस्तारै ब्यानरप्रति आपत्ति जनाउने क्रम शुरू भयो। खासखुसरूपमा शुरू भएको ब्यानरको विवाद कार्यक्रम लम्बिँदै जाँदा सतहमा नै आयो। सभाहलभित्र नाराबाजी र होहल्ला हुन लागेपछि मञ्चमा रहेका एमालेका नेताहरू बाहिर निस्किए।

होहल्ला गर्ने क्रम निकै बढेपछि आक्रोशित माओवादीका कार्यकर्तालाई मत्थर पार्न ऊर्जामन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेता वर्षमान पुनले कोसिस गरे पनि समाधान भएन। कमजोरीका बारेमा आफँहरूको ध्यानकर्षण भएको बताउँदै बस्न आग्रह गर्दा पनि ब्यानर नै परिवर्तन गर्नुपर्ने माग चर्किएपछि पुन पनि बाहिरिएका थिए। माओवादीका आक्रोशित एक कार्यकर्ताले मञ्चमा टाँगिएको ब्यानर झार्ने कोेसिस गरे पनि सुरक्षाकर्मीले रोकेका थिए। एमाले र माओवादीका नेताबीच भएको छलफलपछि प्रचण्ड र ओलीसहितको ब्यानर झिकेर सोही मञ्चमा उल्टो पारेर राखिएको थियो।
त्यसपछि सभा हल केही शान्त भयो। लगत्तै एमालेका तर्फबाट ब्यानरविना कार्यक्रम हुन नसक्ने चेतावनी आएपछि ब्यानरको विवाद शीर्ष नेतासम्म पुगेको थियो। एक बजे कार्यक्रमस्थलमा आइपुगेका एमालेका शीर्ष नेताहरू ब्यानरमा विवाद भएपछि दुईवटा ब्यानर राख्ने टुंगोमा पुगेका थिए।

माओवादी केन्द्रले कम्युनिस्ट नेता लेनिनको फोटो ब्यानरमा नराखिएको भन्दै आपत्ति जनाएपछि ब्यानर झिकेर माओवादी केन्द्रले छुट्टै ब्यानर बनाएर ल्याएको थियो। लेलिनको फोटो नभएको भन्दै ब्यानर झिकिएको तीन घण्टापछि मात्र अर्को ब्यानर राखिएको थियो। माओवादीले छुट्टै ब्यानर ल्याएपछि एमाले नेता कृष्णगोपाल श्रेष्ठले माक्र्स र लेनिनको तस्वीर कार्यक्रमस्थलमा ल्याएर राख्नुभएको थियो।

एमालेले बनाएको र माओवादीले ल्याएको ब्यानर संयुक्तरूपमा राखेपछि मात्र चार घण्टा ढिला गरी कार्यक्रम शुरू भएको थियो। माओवादीले ल्याएको ब्यानर पनि त्रुटिपँर्ण भएपछि कार्यक्रम शुरू भएकाले विवादले उग्ररूप लिन पाएन। एमालेले बनाएको ब्यानरमा नेकपा माओवादी केन्द्र हुनुपर्नेमा नेकपा (माके) लेखिएको थियो। माओवादीका कार्यकर्ताहरूले माके शब्दप्रति पनि आपत्ति जनाएका थिए। त्यसै गरी लेनिनको तस्बीरसहितको ल्याएको ब्यानरमा पनि नेकपा (एमाले) हुनुपर्नेमा ने.क.पा. एमाले उल्लेख गरिएको थियो।

ब्यानरको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफँहरूको कमजोरीको कारण प्राविधिक त्रुटि हुन गएको स्वीकार गरेका थिए। कार्यक्रम शुरू भएपछि पनि नेताहरूको ध्यान भने दुईवटा ब्यानरतर्फ गएको थियो। माओवादी केन्द्रको बायाँ र एमालेको दायाँ दुईवटा ब्यानर राखिएको थियो। माक्र्स र लेनिनको फोटा कार्यक्रस्थलको कुर्सीमा राखिए पनि नेताहरूले मायाल्र्पण भने गरेनन्।

ब्यानरको विषयलाई लिएर एक घण्टाभन्दा बढी विवाद भएको थियो। विवाद बढ्दै जाँदा सभा हलभित्र एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरू हात हालाहालको अवस्थासम्म पुगेका थिए। माओवादी केन्द्रले एमालेले नियतवश नै लेनिनको फोटो समावेश नगरेकाले ब्यानर थप राख्नुपरेको बताएको छ भने एमालेले सामान्य विषयमा माओवादीले किचलो गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्