भारत च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं
आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको दोस्रो दिन भारत ६ स्वर्ण जित्दै च्याम्पियन बनेको छ।

अघिल्लो दिन ४ स्वर्ण जितेको भारत समग्रमा १० स्वर्ण जित्दै च्याम्पियन बनेको हो। नेपालले पहिलो दिन पनि १ स्वर्ण जितेको थियो। भारतले कुल १० स्वर्ण र ३ कांस्य जितेको छ। नेपालले २ स्वर्ण, ६ रजत र १३ कांस्य जित्दै दोस्रो स्थान हात पार्दा २ स्वर्ण ३ रजत र ३ कांस्य जितेको पाकिस्तान तेस्रो भयो। श्रीलंका, बंगलादेश र भुटानले स्वर्ण जित्न सकेनन्।

प्रतियोगिताको दोस्रो दिन घरेलु टोली नेपालका लागि इन्द्रबहादुर श्रेष्ठले मात्र स्वर्ण जितेका हुन्। दोस्रो दिन अन्तिम प्रतिस्पर्धाका रूपमा रहेको पुरुष ६६ केजीमुनि तौल समँहमा नेपालका इन्द्रले पाकिस्तानका बाबर हुसेनलाई पराजित गरेका थिए। उनले सेमिफाइनलमा भारतका अंकित विस्टलाई हराएका थिए। भारतमा भएको १२औं साग गेम्समा कांस्य जितेका १९ वर्षीय इन्द्र एसियन गेम्सको तयारीमा छन्। पुरुष ७३ केजीमुनि र ८१ केजीमुनि तथा महिला ७८ केजीमुनि नेपालका खेलाडीहरू भारतका खेलाडीसँग पराजित भए। पुरुष ७३ केजीमुनि भारतका अजय यादवले नेपालका सन्जित डंगोललाई इप्पोन र वाजरीमा पराजित गर्दै स्वर्ण जिते। नेपालका जंगबहादुर सरु र पाकिस्तानका नदिम अक्रमले कास्य जिते।

पुरुष ८१ केजीमुनि भारतका दिवेशले नेपालका सञ्जय महर्जनलाई पराजित गर्दै स्वर्ण जिते। पाकिस्तानका अब्बास मुहमद र श्रीलंकाका श्रीहर्ष पिरेसले कांस्य जिते। महिला ७८ केजीमुनि भारतका जिनादेवी चाङ्तोमले नेपालका पुनम श्रेष्ठलाई हराउँदै स्वर्ण जितिन्। नेपाली खेलाडी पुनम लगातार ३ फल खेल्दै खेलमा डिस्क्वालिफाई भएपछि भारतीय खेलाडीले गोल्डेन स्कोरमा खेल जितेको हो। निर्र्धािरत ४ मिनेटको समयमा दुवै खेलाडीले बराबरी खेलेका थिए। नेपालकी भावना घर्ती मगर र पाकिस्तानका बिनिस खानले कांस्य जिते। महिला ७८ केजीमाथि भारतीय खेलाडी तुलिका मानले श्रीलंकाका मालिनी शिल्भालाई पराजित गर्दै स्वर्ण जितिन्। बंगलादेशका लोपा तहमिना अख्तर र नेपालका आकृति जोशीले कांस्य जिते।

यसै गरी पुरुष ६० केजीमुनि भारतका विजय यादवले श्रीलंकाका मिलिन्दा नेविरत्नेलाई हराउँदै स्वर्ण जिते। नेपाली खेलाडीद्वय राशनबहादुर दोङ र उमेर मगरले कांस्य पदक हात पारे। महिला ७० केजीमुनि भारतकी गरिमा चौधरीले लिग चरणका चारवटै खेल जित्दै स्वर्ण पदक जितिन्। उनले नेपालकी सुनीता मगर र सम्झना चौधरी, बंगलादेशकी फरिना खानोन र श्रीलंकाकी रुवानी जयारत्नलाई पराजित गरिन्। सोमबार टिम च्याम्पियनसिपतर्फ प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्