बार्सिलोना लगातार चौथोपटक च्याम्पियन



लन्डन, (एजेन्सी)
बार्सिलोनाले स्पेनिस घरेलु फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा डेल रे कप लगातार चौथोपटक जितेको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा सेभियालाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथोपटक उक्त उपाधि उचालेको हो। बार्सिलोनाको यो ऐतिहासिक सफलता हो।

लगातार चौथोपटक यस प्रतियोगिताको उपाधि जित्दै इतिहास रचेको बार्सिलोना समग्रमा ३०औं पटक उपाधि च्याम्पियन बनेको हो। यस प्रतियोगितामा बार्सिलोना १० पटक उपविजेतासमेत बनिसकेको छ। राजधानी मेड्रिडस्थित इस्टेडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनालाई सहज जित दिलाउन लुइस स्वारेजले २ गोल गर्दा लियोनल मेसी, आन्द्रे इनिएस्टा र फिलिप कौटिन्होले १–१ गोल आफ्नो नाममा लेखाएका थिए।

बार्सिलोनालाई सानदार जित दिलाउन लुइस स्वारेजले खेलको १४औं मिनेटमा गोलको खाता खोलेका थिए। यस्तै खेलको ३१औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोबर पारेका थिए। खेलको ४०औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफसम्म बार्सिलोनालाई ३–० को अग्रता दिलाएका थिए।

यसै गरी खेलको ५२औं मिनेटमा आन्द्रेस इनिएस्टाले बार्सिलोनाको गोल संख्या ४ पु¥याए। यस्तै कौटिन्होले खेलको ६९औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनाको पाँचौं गोल सम्भव पारे। लुइस स्वारेजको ब्याकहिल प्रहार आफ्नो डी एरियामा उभिएका सेभियाका क्लेमेन्ट लेङ्लेटको हातमा लागेपछि रेफ्रीले बार्सिलोनालाई उक्त पेनाल्टीको अवसर दिएका थिए।

प्रतिक्रिया दिनुहोस्