कांग्रेस कार्यसमिति बैठक: देउवाले पदाधिकारी मनोनयन प्रस्ताव राख्ने सम्भावना



काठमाडौं । नेपाली कांग्रेसकाे गत चैत १६ गतेदेखि स्थगित केन्द्रीय कार्यसमिति अाज फेरि बस्दै छ । कार्यालय सानेपामा बस्न लागेको बैठकमा अाज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यसूची रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव राख्ने सम्भावना छ । कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री सभापतिले मनोनित गर्ने प्रावधान छ ।

२ महिनाभित्र पार्टी सभापतिले पदाधिकारी मनोनित गर्नुपर्ने भए पनि २ वर्ष भइसक्दा समेत देउवाले मनाेनित गर्न सकेका छैनन् । देउवाकाे  कार्यशैलीप्रति चर्को आलोचना भइरहेका बेला देउवाले मनोनयनको तयारी गरेका हुन् ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधि मनोनित हुने संकेत देखाएका छन् । तर, यसमा गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि दाबी गर्दै छन् । यस्तै महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत वा मानबहादर विश्वक्रमलाई ल्याउन खाेजेकाे  कांग्रेस स्राेत बताउँछ ।

प्रदेशसभा तथा प्रितनिधिसभा निर्वाचनमा अाएकाे अनपेक्षित नतिजाकाे समीक्षा गर्न  र भावी रणानीतिका लागि चैत ९ गतेबाट बैठक सुरु भएको थियो । बैठककै क्रममा चैत १६ गते पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधन हुँदा बैठक स्थगित गरिएको थियो ।

तर शुक्रबार बस्ने भनिए पनि अधिकांश केन्द्रीय सदस्यहरु काठमाडौं बाहिर भएको भन्दै आइतबारलाई सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्