माओवादी हेडक्वार्टर बैठकमा पार्टी एकता प्रगतिबारे प्रचण्डको ‘ब्रिफिङ’



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ ।

आज बिहान ७ बजेबाट पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डकाे निवास खुमलटारमा सुरु भएको बैठकमा एमालेसँग एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको एक नेताले जानकारि दिए।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा बैठकमा सहभागी सदस्यहरूलाई जानकारी गराइरहेका छन्। आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।

 

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो तर केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन ।

 

यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

 

चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीचकाे  निरन्तरकाे छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्