मकवानपुरको बिकट गाउँमा बन्यो १० ऐन



हेटौंडा । मकवानपुरको सबभन्दा बिकट राक्सिराङ गाउँपालिकाले दोस्रो गाउँसभाले ११ कार्यविधि नियमावली र १० वटा ऐन पारित गरेको छ ।
शुक्रबार भएको गाउँसभामा गाउँपालिकाले कृषि, सहकारी, शिक्षा, विनियोजन, आर्थिक, बजार अनुगमनलगायत ऐन पारित गरेको हो । कार्यपालिका बैठक सञ्चालन, कार्यविभाजन, कार्यसम्पादन, पदाधिकारी आचरण, निर्णय कार्यान्वयन, विधेयक प्रणालीलगायत ११ वटा कार्यविधि नियमावली पारित गरिएको छ ।

राक्सिराङ गाउँपालिकाको कृषि व्यवसाय प्रवद्र्धनका लागि कृषि बजार सम्बन्धि व्यवस्था हुनुपर्ने, स्थापना, वर्गीकरण, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समिति रहने विधेयकमा उल्लेख छ ।

उपभोक्ताको स्वास्थ्य सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु वा सेवा गुणस्तर गर्न गाउँपालिकाबाट नियमितरुपमा प्रभावकारी बजार अनुगमन गर्न आवश्यक निर्देशिका लागु गरिएको छ । गाउँपालिकाले आव २०७४÷०७५ का लागि ३४ करोड ३८ लाख ६३ हजार रुपियाँ सञ्चित कोषबाट खर्च गर्ने अधिकार पाएको छ ।

प्रतिनिधिसभा सांसद् विरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको सभामा प्रदेशसभा सांसद्हरु इन्द्रबहादुर बानियाँ, सन्तबहादुर प्रजा र ओम घलान, जिल्ला समन्वय समिति सदस्य सानुकान्छी स्याङ्तान र गाउँपालिका कार्यकारी अधिकृत सुकदेव लम्सालको उपस्थिति थियो ।

क्षेत्र विकास र स्थानीयको आर्थिक उन्नतिका लागि गाउँपालिकाले विभिन्न आयोजना प्रस्तुत गरी ४ सांसद्लाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । सभा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्