‘राजनीतिलाई मागिखाने भांडो बनाए’



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागिखाने भांडो बनाइएको बताउनु भएको छ । सत्तामा बसिरहन मनपराउने कांगे्रस, एमाले र माओवादीहरुले राजनीतिलाई कमाई खाने उद्योग बनाएको दाबी गर्नुभएको हो ।

शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राजनीति गर्ने मान्छेहरु जोगी हुनपनि तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले राजनीति गर्ने मान्छेले निष्ठाको राजनीति नगरेसम्म देश सुध्रन नसक्ने उल्लेख गर्दै व्याक्तिहरु मोटाउंदै जाने र देश टाट पल्टिने जिकिर गर्नुभयो । कांगे्रस, एमाले, माओवादीले सत्ता र शक्तिको राजनीति गरेकाले देशमा भ्रष्टाचार र अराजकता मौलाउंदै गएको उहाँको भनाइ थियो ।

राजनीति गर्ने मान्छेहरु नसुध्रियसम्म देशमा भ्रष्टाचार, कालोबजारी, अराजकताको अन्त्य हुन नसक्ने र सुशासन कायम हुन नसक्ने बताउनु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले नेपाली जनताले संघीय प्रणालीको खर्च पुर्याउन नसक्ने बताउनु भयो । संघीय प्रणालीको आफुहरु बिरोधी नभएको उल्लेख गर्दै अध्यक्ष केसीले देशको आर्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको बिरोध गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्