अपाङ्ग बालिकालाई यौन दुव्र्यवहार गर्ने पक्राउ



चितवन । अपाङ्ग बालिकामा माथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा अपाङ्ग संरक्षण केन्द्र सञ्चालन गरेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको श्रीगणेश अपाङ्ग धार्मिक सेवा केन्द्र सञ्चालन गर्दै आएका विष्णु पौडेललाई आश्रममा रहेका अपाङ्ग बालिकाहरु माथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय आमा समुहको जानकारीका आधारमा सो आश्रमको अनुगमनमा गएको जिल्ला बालकल्याण समिति चितवनको टोलीले पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा राखिएको हो । जिल्ला बालकल्याण समितिको शुक्रबारको बैठक बसेर सो आश्रममा आश्रित बालबालिकाहरुलाई अन्य आश्रममा पुर्नस्थापना गरिएको हो ।

यौन दुव्र्यवहारमा पीडित दुई अपाङ्ग बालिकाहरुलाई आदर्श गृह, अर्का एक जना बालकलाई हाम्रो घर र एक बयस्क व्यक्ति सहित तीन जनालाई मानव सेवा आश्रममा पठाइएको छ । विगत एक बर्षदेखि सञ्चालित श्रीगणेश अपाङ्ग धार्मिक सेवा केन्द्रले सो आश्रमलाई गरिखाने भांडोका रुपमा प्रयोग गर्दै आएको स्थानीय बाह्रघरे आमा समुहकी सचिव ज्ञानु रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्