२३ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि



विनोद सिंह विष्ट, बैतडी । बैतडीमा पाँचवर्ष मुनिका २३ हजार बढी बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाईदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा ६ महिनादेखि ५ बर्षमुनिका २३ हजार ९७८ र १ बर्षदेखि ५ बर्षमुनिका २१ हजार ६४ बालबालिका रहेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ हसिस्टेन्ट तथा पोषण सम्पर्क व्यक्ति सन्तोस पाण्डेयले जानकारी दिनुभयो । भिटामिन ए र जुकाको औषधि खुवाउनका लागी जिल्लाभरी ८३१ महिला स्वास्थ्य स्वंयमसेविका परिचालन गरिएका छन् ।

बच्चाको पेटमा जुका परेपछी रक्तअल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ए को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागी बच्चाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाईन लागेको हो । महिला स्वयमंसेविकाले प्रत्येक स्थानिय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाएको छ ।

नजिकैको वडा कार्यालय वा भिटामिन ए खुवाउने केन्द्र वा महिला स्यवसेविकाज्यूहरुसँग सम्पर्क राखि भिटामिन ए तथा जुकाको औषधी खुवाउनु हुन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ । आज खान छुटेका बालबालिकालाई भोलि पनि औषधि खुवाउन सकिने बताईएको छ ।

सरकारले हरेक ६÷६ महिनामा अर्थात बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्