निर्वाचन कर्मचारी अपहरित



अफगानिस्तान । अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँच जनालाई अपहरण गरेका छन् । अपहरणमा परेकामध्ये तीन जना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुई जना कार्यालयमा सुरक्षामा खटिएका प्रहरी रहेका छन् । अपहरणकारीहरूले कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काजगपत्रहरूमा आगजनीसमेत गरेको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको घोर प्रान्तमा रहेको एउटा कार्यालयमा बन्दुकधारीहरूले मंगलबार आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा आउँदो अक्टोबर २० तारिखका दिन संसदीय निर्वाचन हुन लागेको छ।

‘मतदाताहरूको नाम दर्ता गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले अलियार जिल्लामा रहेको स्वतन्त्र निर्वाचन आयोगको कार्यालयमा आक्रमण गरेर कर्मचारीहरूलाई अपहरण गरेका छन्,’ प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद इक्वाल निजामीले एएफपीसँग भने । सरकारी अधिकारीहरूले घटनामा तालिबानी लडाकुहरू संलग्न भएको आरोप लगाएका छन् ।

प्रवक्ता निजामीले अपहरणमा परेकामध्ये तीन जना निर्वाचन कार्यालयका कर्मचारीहरू र दुई जना प्रहरी रहेको जानकारी दिए । घटनाका बारेमा तत्काल अनुसन्धान सुरु गरिएको र घटनामा संलग्न तथा अपहरितहरूको खोजी अभियान चलाइसकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्