नेयमारको विश्वकप खेल्ने आशा



लन्डन, (एजेन्सी)
ब्राजिलका अन्तर्राष्ट्रिय फुटबलर नेयमारले आगामी विश्वकपका लागि स्वस्थ हुने आशा गरेका छन्। उनले १७ मेमा टे«निङमा फर्कने पनि बताए। गत २५ फेबु्रअरीमा फ्रेन्चलिगअन्तर्गत एक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डले खुट्टाको औंलाको हड्डी भाँचिदिएपछि शल्यक्रिया गर्नुपरेको थियो।

ब्राजिलले विश्वकपमा पहिलो खेल स्विजरल्यान्डविरुद्ध १७ जुनमा खेल्नेछ। जुन खेलका लागि करिब दुई महिना समय बाँकी छ। २६ वर्षीय खेलाडी नेयमारले भने– ‘त्यतिबेलासम्म स्वस्थ हुने आशा गरेको छु।’

नेयमार गत अगस्टमा बार्सिलोनाबाट पीएसजीमा आबद्ध हुँदा विश्वकै सबैभन्दा महँगो फुटबलर भएका थिए। उनले फ्रेन्च टोलीका लागि १६ एसिस्टसँगै २५ गोल गरेका छन्। उनले साओ पाउलोमा भएको पत्रकार सम्मेलनमा बताए– ‘मैले १७ मेमा अन्तिम जाँच गराउनेछु। त्यसमा म खेल्न स्वतन्त्र हुनेछु। मैले गत साता पनि जाँच गराइसकें। सबै ठीक छ। राम्रो सुधार भइरहेको छ। त्यसैले मैले यस्तै निरन्तरता पाएमा म छिटोभन्दा छिटो मैदानमा हुनेछु।’

उनले दिनहुँ उपचार गराइरहेको पनि बताएका छन्। उनले भने– ‘दिनहुँ उपचार पाइरहेको छु। यो विश्वकप हो। मैले विश्वकपमा खेल्न चार वर्ष पर्खेको छु। यो निकट हुँदै छ।’

नेयमारले ब्राजिलका लागि आफ्नै राष्ट्रमा हुँदा खेलेका थिए। तर उनले चोट बेहोर्दै नखेल्दा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलअन्तरले हार्नुपरेको थियो।

यसको बाबजुद आगामी रुसमा हुने विश्वकपमा ब्राजिललाई च्याम्पियन जर्मनीसँगै उपाधि दाबेदारमा राखिएको छ। पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले विश्वकपअन्तर्गत समूह ‘ई’मा स्विजरल्यान्ड, कोस्टारिका र सर्बियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्