त्रिभुवन विमानस्थल २१ घण्टा संचालन



काठमाडौं । सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गर्नु भएको हो । उहाँले सो विमानस्थल २४ घण्टा नै संचालन गर्ने आफ्नो लक्ष्य रहेपनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तराष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताउनु भयो । सरकारले छिट्टै झापाको भद्रपुरमा नाईटमा विमान चलाउने व्यवस्था गर्दैछ । पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउने महत्वकांक्षी योजना पनि अघि सार्नुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तिमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्क समेत गर्नुभयो । सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ । मन्त्री अधिकारीले अव कम्तिमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि स्विकार गर्नुभयो ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरुसँग नियमित परामर्श गर्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्