सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता



hdr

नेपाल समाचारपत्र, काठमाडौं ।

सभामुख कृष्णबहादुर महरा रसंयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्ल्याभ जेन्का बीच भेटवार्ता भएको छ । सभामुख महरा र सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीचसोमबार (आज)संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि ऐन, कानूनहरु निर्माण गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताउनुभयो ।

शान्ति प्रक्रियाका धेरै कामहरु सम्पन्न भइसकेको भन्दै सभामुख महराले अब देश आर्थिक समृद्धि र विकासतर्फ पूरै केन्द्रित भएको बताउनुभयो । ‘संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा निर्वाह गरेको भूमिकाका लागि म तपाईंमार्फत् राष्ट्रसंघलाई विशेष धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु करिब–करिब सम्पन्न भएका छन् । हामी अहिले दिगो शान्ति र देशको समृद्धितर्फ केन्द्रित भएका छौं ।’

तीन चरणका निर्वाचनमार्फत् स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको बताउँदै सभामुख महराले ५ वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउनुभयो ।

उक्त भेटमा सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै जेन्काले संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्