चितवन राष्ट्रिय निकुञ्जभित्र माछा खान नपाइने



चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बैशाख १ गते माछा खान नपाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय, सेक्टर, हात्तीसार शाखा, रेञ्ज पोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायत नेपाली सेना र निकुञ्जका कर्मचारीहरुले आफ्नो क्वाटर तथा क्यान्टिनमा माछा खान नपाउने भएका हुन् । निकुञ्जका अनुसार राप्ती, रियु र नारायणीको मात्रै नभएर पोखरीको माछा समेत निकुञ्ज भित्र खान पाइने छैन् ।

नदीमा पाइने संकटनापन्न प्रजाति मध्येको घडीयाल गोहीको मुख्य आहारा माछा रहेकोले गोहीको संरक्षण कार्यमा योगदान पु¥याउन निकुञ्ज भित्र कार्यरत कुनै पनि कर्मचारीले त्यहाँ माछा खान नपाउने निकुञ्जले जनाएको छ । दुर्लभ वन्यजन्तु जोगाउन निकुञ्जका कर्मचारी थप जिम्मेवार हुनुपर्ने भएकाले गोही संरक्षणको विशेष कदम चालिएको हो ।

निकुञ्जले लगाएको प्रतिबन्ध विपरित कुनै कर्मचारीले क्वाटरमा वा क्यान्टिनमा माछा पकाउने र खाने गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने निकुञ्जको तयारी छ । चितवन राष्ट्रिय निकुञ्जमा एक हजार भन्दा बढी नेपाली सेना र तीन सय ५० जना भन्दा बढी प्रशासनिक कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्