नयाँ वर्षको शुभकामना



विभिन्न किसिमको उतार–चढावका साथ चैत्र मसान्तमा पुरानो सालको बिदाइ गर्दै र विभिन्न योजना, उत्साह र उमंगका साथ हरेक साल वैशाख १ गते नयाँ वर्षलाई स्वागत गरिन्छ । अघिल्लो वर्ष अधुरा रहेका योजना नयाँ वर्षमा पूरा गर्ने, विगतको भन्दा फरक ढंगले अघि बढ्दै सफलता चुम्ने उद्देश्य लिँदै सबैले आ–आफ्नै ढंग र शैलीले नयाँ वर्षलाई स्वागत गर्ने परम्परा बन्ने गरेको छ । गत वर्ष अर्थात् २०७४ मा धेरै उतार–चढावलाई किनारा लगाउँदै हामीबाट बिदा भएको छ, केही उतार–चढाव अझै बाँकी छन् । २०७४ विशेषतः राजनीतिक उतार–चढावका साथ हामीबाट बिदा भएको छ ।

विगतका वर्षभन्दा २०७४ केही पृथक र उपलब्धिमूलक रह्यो । २०७२ असोजमा संविधान जारी भए पनि २ वर्षपछि मात्र संविधान कार्यान्वयन हुने वातावरण बन्न थालेको छ । २०७४ मा विभिन्न चरणमा भएका निर्वाचनपछि वर्षौं लामो राजनीतिक संक्रमणलाई किनारा लगाउँदै मुलुक संघीय ढाँचामा परिवर्तन भएको छ । संविधानले परिकल्पना गरेअनुसार विभिन्न चरणमा स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएको छ । करिब ६ महिनासम्म लगाताररूपमा सम्पन्न भएका निर्वाचनले वर्षौैं लामो राजनीतिक संक्रमण लगभग किनारा लागेको छ । तर, प्रदेश र स्थानीय तह सञ्चालनसम्बन्धी कानुन अभावमा जनप्रतिनिधि भूमिकाविहीन बन्नुपर्ने अवस्था पनि छ ।

‘स्थिरता र समृद्धि’ को नाराका साथ संघीय संसद्को निर्वाचनमा होमिएको कम्युनिस्ट गठबन्धनले सुविधाजनक बहुमत ल्याउन सफल भएको छ । मतदाताले गठबन्धनलाई प्रस्ट बहुमत दिएपछि वर्षौंपछि झन्डै दुई तिहाइको सरकार बनेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको वर्तमान सरकारले आर्थिक समृद्धिलाई जोड दिएको छ । अराजकता, भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट दिक्क भएका आम नेपालीलाई सबै क्षेत्रमा परिवर्तनको अनुभूति गराउने सरकारको दाबी छ । छिमेकी मुलुकहरूले हासिल गरेका महत्त्वपूर्ण उपलब्धिबाट पाठ सिकेर, छिमेकी र अन्य दातृ मुलुकसँगको सहकार्यबाट आर्थिक फट्को मार्न सकिने सरकारको कार्ययोजना छ ।

रेलमार्ग र जलमार्ग, पूर्वाधार, व्यापार र अन्य कनेक्टिभिटीले छिमेकी मुलुकसँगको दूरी घटाउने आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री र अन्य मन्त्रीहरूले बताउने गरेका छन् । विगतमा भएका सहमति÷सम्झौताको पुनरावलोकन गर्दै कार्यान्वयन हुने वातावरण बनाइएको खण्डमा सरकारको दाबी सफल बन्नेमा दुईमत छैन । तर, ठूल्ठूला आयोजना र महत्त्वाकांक्षी कार्ययोजना सार्वजनिक गर्ने र आम सर्वसाधारणका समस्या सधैं ओझेल पर्ने अवस्था बन्नु÷बनाइनु हुँदैन । मुलुकभित्रै रोजगार र लगानी सुरक्षित हुने वातावरण पनि बनाइनुपर्छ । नयाँ वर्ष नेपाल र समग्र नेपालीका लागि स्थिरता र आर्थिक समृद्धिको प्रस्ट मार्गचित्र कोर्ने स्मरणीय वर्ष बन्न सकोस् । नयाँ वर्षको शुभकामना !

प्रतिक्रिया दिनुहोस्