बेतन कर्णालीमा दुई बैंकको नेतृत्वमा ऋण लगानी हुने



काठमाडौं, (नेस)
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको अधिकांश शेयर लगानी रहेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनीले सुर्खेतको चौकुनस्थित बेतनमा निर्माण गर्न लागेको बेतन कर्णाली जलविद्युत् आयोजनाको लागि वित्तीय स्रोत जुटेको छ।

बिहीबार कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंक तथा नबिल बैंकबीचको लागि २५ अर्ब रुपियासम्म सहवित्तीयकरण समूह गठन गरी ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीमा कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशासक दीपक रौनियार, नेपाल एसविआई बैंकका प्रमुख कार्यकारी अनुकुल भटनागर र नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभयो।

कम्पनी ऐनबमोजिम गत वैशाखमा दर्ता भएको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत पुजी २० अर्ब र जारी पुजी १० अर्ब रुपिया रहेको छ। जसमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ भने कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण १० प्रतिशत, विद्युत् उत्पादन कम्पनीको १० प्रतिशतर बाकी २५ प्रतिशत सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका बासिन्दा र अति विपन्न परिवारको शेयर स्वामित्व रहनेछ।

हाल कम्पनी सञ्चालनमा कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीबाट संस्थागत प्रतिनिधिहरू १÷१ जना र कम्पनीले शेयर प्रमाणपत्र वितरण नगर्दासम्म कोषको कार्यविधि बमोजिम सञ्चयकर्ताको प्रतिनिधित्व हुने गरी कोष सञ्चालक समितिले मनोनयन गरेको ३ जना गरी जम्मा छ सदस्यीय सञ्चालक समिति रहेको छ।

बेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडबाट भइरहेको छ। आयोजनाको कुल लागत विस्तृत परियोजना प्रतिवेदन प्राप्त भइसकेपछि निश्चित हुने भएता पनि करिब ७० अर्ब रुपिया लाग्ने प्रारम्भिक अनुमान रहेको छ। सो लागतमध्ये ३० प्रतिशत अर्थात २१ अर्ब रुपिया शेयर पुजीबाट र बाकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपिया ऋण व्यवस्थापन गर्नुपर्ने छ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण बैंक वित्तीय संस्थाबीचको सहवित्तीयकरण कर्जा, गैरबैंकिङ वित्तीय तथा अन्य संस्था, ठूला कोष, सार्वजनिक तथा निजी क्षेत्रका अन्य संस्थाबाट कर्जा र वित्तीय उपकरण अवलम्बन गरी वित्तीय स्रोत जुटाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्