सत्यमोहन जोशीलाई गाडी र सुरक्षा गार्ड, महानगरपालिकाको आलोचनाको बे्रक बन्यो



सुनील महर्जन

वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई गाडी र सुरक्षा गार्ड दिने विषयले ठूलो चर्चा पाएको छ। यस निर्णयबाट प्रमुख चिरिबाबु महर्जनसहित सिंगो ललितपुर महानगरपालिकाले जनताबाट निकै ताली पाएको थियो। ११ महिनायता कहिले लगातार विदेश भ्रमण त कहिले कार्यसम्पादन शून्य भएकोमा प्रमुख महर्जनमाथि भइरहेको आलोचनाको क्रमलाई सो निर्णयले एकाएक बे्रक लगाइदियो।

जोशीलाई गाडी र सुरक्षा गार्ड दिने प्रमुख महर्जनको प्रस्तावप्रति गत बिहीबार नगर कार्यपालिकाको बैठकमा उपस्थित सबै सदस्यले सहमति जनाएका थिए। कार्यपालिका बैठकमा ‘म र मेरो पार्टी (नेपाली कांग्रेस) भन्दा विपक्षीको बहुमत रहेकाले मैले भनेअनुुसार पनि काम गर्न गाह्रो छ’ भनेर प्रमुख महर्जनले काम विशेषले आउने स्थानीयलाई बेलाबखत सुनाउने गर्दथे। यस्तो अवस्थामा सर्वसम्मतरूपमा सो निर्णय पारित हुनुले राम्रा काममा विपक्षीले साथ दिने सन्देश प्रवाह भएको नेकपा एमालेबाट निर्वाचित वडा नं १९ का वडा अध्यक्ष विनोद ताम्रकार बताउँछन्।

निर्णयबाट खुसी भएका कतिपयले जोशीलाई दिएको पुरानो गाडी हेरेर मन खिन्न पारेका थिए। महानगरपालिकाले ‘अलि कञ्जुस्याइँ ग¥यो कि भनेर’ प्रतिक्रिया दिए पनि अहिलेलाई सकारात्मकरूपमा सो निर्णयलाई लिनुपर्ने भनाइ धेरैको र≈यो। सोमबार जोशीलाई गाडी हस्तान्तरण गर्ने क्रममा प्रमुख महर्जनले आवश्यकताअनुसार गाडी हेरफेर गरिदिने वचन पनि जोशीलाई दिएका थिए। यस क्रममा जोशीलाई स्यामसुङ ग्यालेक्सी–७ को मोबाइल पनि दिइएको थियो।

जोशीको प्रतिमा राख्ने ठाउँको व्यवस्था गर्न माग
आउँदो वैशाख ३० गतेबाट जोशी ९९ वर्षमा प्रवेश गर्नेछन्। उनको सम्मानमा वर्षभरि विविध कार्यक्रम गरी मनाउने पनि तयारी विभिन्न स्तरमा भइरहेको छ। महानगरपालिकाले वर्षभरि विविध कार्यक्रम गर्न लाग्ने खर्च व्यहोर्ने पनि प्रमुख महर्जनले प्रतिबद्धता व्यक्त गरेका छन्।

ललितपुर–८ लोंहलका कलाकार राजकुमार महर्जनले ५ वर्षअघि जोशीको पूर्ण कदको प्रतिमा बनाएका थिए। त्यसयता भएका हरेक मेला, महोत्सवमा उनले सो प्रतिमा प्रदर्शनीमा राख्दै आएका छन्। ‘प्रतिमालाई धेरैले आकर्षकरूपमा लिएको छ’, कलाकार महर्जनले भने– ‘सो प्रतिमा स्थायी कुनै न कुनै खुला स्थानमा राख्न पाए हुन्थ्यो। यसबाट सत्यमोहन जोशीसँगै कलाको सम्मान हुने छ।’

यसलाई जायज मागका रूपमा लिँदै ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहनुभएका समाजसेवी अजरमान जोशीले पनि यसमा अग्रसरता देखाउन थालेका छन्। ‘जोशीको सम्मान, कलाकारको सम्मानमा नै ललितपुरको गौरव हुनेछ।’ –पूर्वअध्यक्ष जोशीले भने।


जोशीको निम्ति ऊर्जा
महानगरपालिकाले आफूलाई गाडी र सुरक्षा गार्डको सुविधा दिनुलाई आफ्नो कार्यप्रतिको सम्मानका रूपमा जोशीले लिएका छन्। यस सम्मानले आफ्नो बुढेसकाललाई अझ सानदार बनाउन ऊर्जा थपेको जोशीको अनुभूति रहेको छ। ‘संस्कृति र लोक साहित्यका बारे अझ लेखपढ गर्न, कार्यक्रममा जान मलाई हौस्याएको छ।’

९८ वर्षीय जोशीलाई महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यताउति जान सहज होस् भनेर गाडी र गार्ड उपलब्ध गराउने प्रस्ताव शुरूमा राख्दा सहमति जनाउन अनकनाएका थिए। प्रमुख महर्जनले जोशीको बखुम्बहालस्थित घरसम्म पुग्नुभई महानगरपालिकाले सुविधा दिने विषयमा सर्वसम्मतरूपमा निर्णय गरेको सुनाएका थिए। प्रमुख महर्जनको आग्रह अगाडि जोशीको केही सीप नलाग्ने देखे पनि सम्मान स्वीकार गर्ने हाउभाउ देखाएका थिए। सम्मान ग्रहण गर्ने बेला पनि जोशीले यो कुरा लुकाएनन्।

गाडी हस्तान्तरणको औपचारिक कार्यक्रममा जोशीले भने– ‘भूकम्पले क्षति भएको घर त बनाउन सकिएको छैन। यो गाडी र सुरक्षा गार्ड लिएर कहाँ राख्ने भनेर शुरूमा भनेको थिएँ।’ यति भन्नासाथ उपस्थिति जोशीका शुभेच्छुक, जनप्रतिनिधिको हाँसोको फोहरा उठेको थियो।

यसअघि पनि जोशीलाई विभिन्न कूटनीतिक नियोग र बैंक तथा वित्तीय संस्थाबाट यस किसिमको सम्मानको ‘अफर’ आएको थियो। जोशीले त्यसलाई स्वीकार गर्नुभएन। मयेरसँगै आएका आफ्नो वडा नम्बर ११ का वडाध्यक्ष नारायणलाल अवाले, जोशीका सहकर्मी पूर्वसहसचिव विहारीकृष्ण श्रेष्ठलगायतले सम्मान लिन गरेको आग्रहमा जोशीले आफ्नोपनको अनुभूत गरेका थिए।

‘यो व्यक्ति सत्यमोहन जोशीको सम्मानका रूपमा मैले लिएको छैन। एक साहित्यकार र संस्कृतिको संरक्षणमा पु¥याएको कार्यप्रतिको सम्मानका रूपमा मैले लिएको छु। जे होस् यसले बुढेसकालमा अझै बाँच्न ‘इनर्जी’ दिनेछ।’ –उनले भने। करिब ४ वर्षअघि जोशीको व्यक्तित्वबारे लेखिएको लेखहरू संकलन गरेर नई प्रकाशनले पुस्तक प्रकाशन गरेको थियो। पुस्तकको नाउँ वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी राखिएको थियो। त्यतिबेला भनेको सम्झिँदै जोशीले भने– ‘होइन म त भर्खर ९५ वर्षको भएँ। शताब्दी पुरुष भन्न मिल्छ त भनेर मैले सोधेको थिएँ।’

प्रत्युत्तरमा प्रकाशनका पदाधिकारीहरूले ‘मिल्छ किन नमिल्ने, ९५ वर्षसम्म त बाँच्नुभयो। ५ अंक ग्रेस थपेर विधार्थी परीक्षामा पास गरेजस्तै तपाईंलाई ५ वर्ष थपेर शताब्दी पुरुष भनेको’ भनी हासे। त्यसपछि त जसरी भए पनि सय वर्षसम्म बाँच्नुपर्दछ भनेर आफूलाई लागेको जोशीले ठट्ट्यौली पारामा भने।

उनले राजा योगनरेन्द्र मल्लसँग जोडिएको किम्वदन्ती सुनाउँदै दीर्घ जीवनको सुत्र पनि बताए। मंगलबजारमा रहेको राजा योगनरेन्द्र मल्लको शालिकको टाउकोमा सुन लेपन गरिएको चरा छ। त्यो चरा उडेर गएपछि मात्र मेरो मृत्यु भएको मान्नु भनेका थिए। यस्ता असम्भव लाग्ने सात घटना भएपछि मात्र मृत्यु भएको मान्नु भन्ने किम्वदन्तीमा दीर्घ जीवनको सुत्र रहेको उल्लेख गर्दै जोशीले त्यसको सार सुनाए– ‘जिउने इच्छामा सिक्ने इच्छा, चिन्तन हुनुपर्दछ, चिन्ता होइन।’

१२औं शताब्दीका कलाकार अरनिकोको शालिक ललितपुरको कुनै न कुनै सार्वजनिक ठाउँमा राख्न पनि महानगरपालिकासँग आग्रह गरे। जोशीको इच्छाअनुसार महानगरपालिकाले सो शालिक बनाएका थिए। शालिक हाल पुल्चोकस्थित महानगरपालिकाको परिसरमा राखिएको छ।

जोशीका अनुसार अरनिको ललितपुरमा नै जन्मिएका हुन्। ‘यद्यपि त्यसको पुष्ट्याइँ नै गर्ने प्रमाणिक आधार छैन। सहायक प्रमाण गर्ने आधारहरू धेरै छन्।’ ३ वर्ष चीनमा बसेर कलाकार अरनिकोको विषयमा अनुसन्धान गरेर कृति प्रकाशन गरेका जोशीले भने– ‘अरनिको मरेको बेला त्यहाँका राजाले उसको संस्कारअनुसार दाहसंस्कार गर्नु भनेका थिए। सोहीअनुरूप दाहसंस्कार गरेको तरिका, त्यसपछिको मृत्यु संस्कार जम्मै नेवार समुदायले अद्यापि गर्दै आएका छन्। यही आधारमा अरनिको नेवार नै हुन् र उनको जन्म कलाकारको शहर ललितपुरमा जन्मिएको भन्न सकिन्छ।’ इतिहासकार बाबुराम आचार्यले पनि यसबारे उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्