स्रोत भवन निर्माणमा जुटे विदेशी पर्यटकहरु



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको त्रिवेणाी गाउँपालिका वडा नम्बर ६ दहबाङमा विदेशी पर्यटकहरुले एकिकृत स्रोत भवन निर्माण गर्न लागेका छन् । करिव १० लाख रुपैयाँको लगानीमा उनीहरुले सूचना केन्द्र, लाइव्रेरी, कृषि प्रयोगशाला लगायत प्रयोजनका लागि एकीकृत स्रोत भवन निर्माण गर्न लागेका हुन् । एकीकृत स्रोत केन्द्रको भवन निर्माणमा विभिन्न १८ देशका विदेशी पर्यटकहरु विगत पाँच महिनादेखी नियमित काममा जुटेका छन् ।

निर्माणाधीन भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणमा उनीहरूले स्वयंसेवक रुपमा काम गरिरहेका छन् । उनीहरुले स्रोत भवन निर्माणका लागि दिनहुँ माटो, ढुंगा र काठको काम गरेर उक्त स्रोत भवनको कामलाई अघि बढाएका छन् । भवन निर्माणका लागि आवश्यक कामकाज गर्दा फुर्सद नहुने भएकाले स्थानीय एक महिलालाई तलब दिएर खाना पकाउन लगाएका छन् ।

भवनका लागि जंगलमा काठ काट्ने तथा दहवाङसम्म पु¥याउने स्थानीयले पनि उनीहरूबाटै पारिश्रमिक पाउन थालेका छन् । एकीकृत स्रोत केन्द्र निर्माणस्थलमा बनिरहेको शौचालयमा काम गर्ने स्थानीय कामदारलाई समेत विदेशीले नै पारिश्रमिक दिने गरेका छन् । पाँच महिना अघिबाट निर्माणधिन भवनको काम सुरु गरिएकोले झण्डै ६० प्रतिशत काम पुरा भएको छ ।

विदेशीहरुले स्रोत भवनको काम सुरु गरेसंगै १५ जना स्थानीयले रोजगारी पाएका छन् । स्रोत भवनको निर्माण कार्य सुरु गरेसंगै सडक, बिजुली र खानेपानी गाउँमै पुगको छ । स्रोत केन्द्र अन्तर्गत उक्त ठाउँमा रंगशाला, पुस्तकालय, बालउद्यान, ग्रिनहाउस, संगीत तथा कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, आईटी लगायत संरचना बन्ने भएका छन् । भवन भने विदेशी डिजाइनमा भूकम्प प्रतिरोधी बनिरहेको छ ।

भवन निर्माणको सम्पूर्ण काम विदेशी आफैंले गर्दै आईरहेका छन् । निर्माणाधिन भवनको तीन कोठामध्ये एउटामा पुस्तकालय, एउटामा बहुउद्देश्यीय हल तथा अर्कोमा संगीत र कला केन्द्र सञ्चालन गरिने निर्माण टीमका प्रमुख बेल्जीएम नागरिक जोले बताए । उनले भने, ‘हामी यस्तो ठाउँमा काम गर्न पाउँदा ज्यादै खुसी छौं, ‘यहाँका लागि थोरै भए पनि श्रम खर्च गर्न पाएकोमा गर्व लागेको छ ।’

बालकदेखि वृद्धसम्मको जीवनस्तर र शैली उस्तै खालको पाइएकोले त्यसको परिवर्तनका लागि आफूहरू निरन्तर लागिरहेको उनले बताए । अबको २ महिनाभित्र भवन निर्माण पूरा हुने बताइएको छ । विकासका लागि संयुक्त अभियान नेपालले उनीहरूलाई दहवाङ ल्याएको हो । रुकुम पश्चिम, सल्यान र रोल्पाको समेत पायक पर्ने उक्त ठाउँबाट कृषिदेखि इन्टरनेट सम्मको सेवा प्रवाह गर्ने अवधारणाका साथ एकीकृत स्रोत केन्द्र स्थापना तयारी भएको अभियानकी अध्यक्ष रञ्जु भण्डारीले जानकारी दिइन् ।

‘हाम्रो संस्था र स्थानीयले उहाँहरू (विदेशी) लाई केही दिनुपरेको छैन,’ भण्डारीले भनिन्, ‘खाली गाउँमा पु¥याउने मात्र पहल गरिएको हो ।’ एकीकृत स्रोत केन्द्र निर्माणका लागि हालसम्म १ सयभन्दा बढी विदेशीले श्रम गरिसकेका छन् । ‘फर अ पर्पोज’ नामक सामाजिक सञ्जालबाट विदेशीले नै स्वयंसेवा खोज्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्