नेपाल–भारत सम्बन्ध उचाइमा पुग्ने संकेत



चीनको सिगात्सेबाट काठमाडौंसम्म रेलमार्गको पहुँच पुर्याउन बहस चलिरहेको बेला भारत सरकारले प्रमुख व्यापारिक नाका रक्सौलबाट काठमाडौंसम्म रेलले जोडिदिने घोषणा गरेको छ । त्यति मात्र होइन, भारतले नेपाललाई समुद्री सतहसँग जोड्नका लागि मार्गप्रशस्त गरिदिने घोषणाले नेपाल र भारतबीच केहीसमय रहेको तीक्ततालाई अन्त्य गर्ने प्रयाससमेत गरेको छ । भारत भ्रमणमा रहेर आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुलुकको अहितमा कुनै काम नगरेको र भारतीय पक्षले मुलुकको हितका लागि थुप्रै प्रतिबद्धता जनाएकाले भ्रमण विगतको जस्तो जाने⁄आउने मात्रै नभएको दाबी पनि गर्नुभएको छ । यसले साँच्चिकै मुलुकको समृद्धिका लागि काम गर्ने अपेक्षासमेत गरिएको छ ।

भारतमा आगामी वर्ष हुने संसदीय चुनाव र नेपाल नीतिमा मोदी सरकार असफल भएको टिप्पणी भइरहेको बेला दुवै देशबीच भएको १२ बुँदे संयुक्त विज्ञप्ति र भारतले सगरमाथादेखि समुद्रसँगको पहुँचमा नेपाललाई जोड्ने घोषणा गर्नुले नेपालले विकासको क्षेत्रमा थप काँचुली फेर्न सक्ने आँकलन गरिएको छ । भारतले विगतको आफ्नो रबैयालाई परिवर्तन गर्दै नेपाललाई आफ्नो विश्वासमा लिन खोजेको शनिबार जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व रंगमञ्चमा आफूलाई अब्बल राजनेताको रूपमा प्रस्तुत गर्न सफल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने पछिल्लो समय नेपालमाथि नाकाबन्दी लगाउनेसम्मका काम गर्नुभएपछि भारतमै आलोचनाको पात्र बन्नुभएको थियो । अब नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइनको कामले तीव्रता लिनुका साथै आइतबारदेखि पर्साको सिर्सिया र अलौमा भारत सरकारले निर्माण गरिदिएको एकीकृत सुरक्षा जाँच चौकीसमेत सञ्चालनमा आएपछि भारतले नेपाललाई गर्ने सहयोग घोषणामा मात्र नभएर व्यवहारमै देखाएकाले पनि नेपाल–भारतबीचको सम्बन्ध थप उचाइमा पुगेको छ ।

नेपालले अब विभिन्न मुलुकसँग व्यापार गर्नका लागि आफ्नो पानीजहाज सञ्चालन गर्ने घोषणालाई मूर्तरूप दिनेसमेत भएको छ । दुवै देशबीच लामो समयदेखि रहेको हार्दिक सम्बन्धलाई अझै मजबुत बनाउन भ्रमण सफल भएको भन्दा अत्य्ुक्ति नहोला । नेपालले पनि आफ्नो विगतमा भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । एकले अर्कालाई हेर्ने दृष्टिकोण समान भए मात्रै दुवै देशका शासकबीचको सम्बन्ध सुमधुर हुने विश्वास गर्न सकिन्छ । विगतमा भारतले देखाएको दादागिरीको नेपाली जनताले डटेर सामना गरेपछि नेपालमा भारतविरोधी जनमत निर्माण भएको थियो । त्यसैले भारतले नेपाल र अन्य छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ । जे होस्, प्रम ओलीको अहिलेको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्