विद्यार्थी लक्षित भर्ना अभियान



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले विद्यालयबाहिर रहेका ४ लाख विद्यार्थीलाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गर्ने भएको छ। हाल नेपालमा ७२ लाख ४८ हजार २ सय ८५ विद्यार्थी छन्। तीमध्ये प्राथमिक तहमा ८८ हजार २ सय ७ र आधारभूत तहमा ३ लाख १३ हजार २ सय ८९ विद्यार्थी विद्यालयबाहिर रहेका छन्। सबै विद्यार्थीलाई विद्यालयभित्र प्रवेश गराउन भर्ना अभियान शुरू गर्न लागेको हो।

आगामी शैक्षिक सत्रको भर्ना अभियान २०७५ वैशाख २ गतेबाट सञ्चालन हुनेछ। नयाँ वर्षसँगै शुरू हुने भर्ना अभियानमा मुलुकका विशिष्ट व्यक्तिलाई सहभागी गराइनेछ।

विद्यालयबाहिर रहेका विद्यार्थीलाई भर्नासँगै हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन भर्ना अभियान गर्न लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक अपिल गर्दै विशिष्ट व्यक्तिहरूले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालय भर्ना गराउने वातावरण मिलाइदिन आग्रह गर्नुभयो।

विद्यालयबाहिर रहेका ४ लाख बालबालिकालाई विद्यालय ल्याइने

 

शैक्षिक तथ्यांक २०७४ अनुसार प्राथमिक तहमा भर्ना दर राष्ट्रिय औसतको ९७ दशमलव २ प्रतिशत रहेको अवस्थामा २ दशमलव ८ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। आधारभूत तह ५ देखि १२ वर्ष उमेर समूहको भर्ना दर राष्ट्रिय औसत ९२ दशमलव ३ प्रतिशत रहेकोमा ७ दशमलव ७ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्। सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, मोरङ, सिराहा, महोत्तरी, बाँके, रूपन्देही, सुनसरी, सप्तरी र कपिलवस्तुमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर छन्।

भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री केपी ओलीले वैशाख ५ गते ५ जना विद्यार्थीलाई भर्ना गराउनुहुनेछ।

विद्यालयबाहिर रहेका बालबालिका पहिचान गरी मुख्य सचिव, सचिव र सहसचिव गरी करिब १ सय उच्च अधिकारीले बालबालिका भर्ना गराउने कार्यक्रम रहेको छ।
(क्रमशः पृष्ठ ९ मा)
विद्यार्थी…
त्यस्तै ४० हजारको संख्यामा रहेका गैरसरकारी संस्थाले विद्यार्थी खोजी गरी विद्यालयमा भर्ना गराउने भएका छन्। भर्ना अभियानमा स्थानीय निकायका जनप्रतिनिधिलाई सहभागी गराउन सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री पोखरेलले विगत वर्षभन्दा फरक रूपमा भर्ना अभियान सञ्चालन गर्न अधिकांश सरकारी कर्मचारीलाई परिचालन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामी सबैको दायित्व भएकाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन अभियानलाई विशेष रूपमा लिएका हौं।’

बालबालिका भर्ना भएसँगै नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन सरकारले २ अर्ब २२ करोड २२ लाख अनुदान रकम उपलब्ध गराइसकेको छ। शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भर्ना अभियानपछि पुस्तक उपलब्ध गराउन आवश्यक पर्ने रकम सबै स्थानीय निकायले पाइसकेको जानकारी दिनुभयो। भर्ना अभियानमा सबैको सहयोग अपरिहार्य रहेको बताउँदै पौडेलले त्यसका निम्ति सबै सरोकारवाला निकाय परिचालन भइसकेको जानकारी दिनुभयो।

भर्ना अभियानको सार्वजनिक अपिल जारी गर्दैै मन्त्री पोखरेलले आउँदो वर्षमा कुनै पनि बालबालिका विद्यालयबाहिर नहुन भन्ने हेतुले विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो। सरकारले भर्ना अभियानमा कलाकार, देशका विशिष्ट व्यक्तिको सहभागिता जनाउन लागेको हो।
कलाकार हरिवंश आचार्यले आफूले ४ जना बच्चा भर्ना गरेर अभियानमा सहयोग गर्ने बताउनुभयो।

बद्री पंगेनीले आफूले गीतमार्फत भर्ना अभियानमा सहयोग गर्ने जानकारी दिनुभयो। कलाकार मिथिला शर्मा, राजाराम पौडेलले आफूहरूले भर्ना अभियानमा सहयोग गर्ने बताएका थिए।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सांसददेखि सरकारी कार्यालयमा कार्यरत सबै कर्मचारीले आफ्नो बालबालिका सरकारी विद्यालयमा अध्ययन गराएपछि मात्रै भर्ना अभियानले सार्थकता पाउने बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा मन्त्रालयअन्तर्गतका सबै निकायका प्रमुख, विश्वविद्यालय अनुदान आयोग, नेपाल शिक्षक महासंघ, प्याब्सन, हिसान, विभिन्न दलका सचेतक, कलाकार, बुद्धिजीवीसँग अन्तरक्रिया गरी भर्ना अभियानमा सहयोग गर्न अपिल गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्