कमजोर दिल्ली डेयरडेभिल्स र उत्कृष्ट सन्दीप



फिरोज राजोपाध्याय

नेपालका युवा बलर सन्दीप लामिछानेको इन्डियन प्रिमियर लिगमा (आईपीएल) करियर भोलिबाट शुरू हुन लागेको छ। विश्वमा सबैभन्दा चर्चा बटुलेको क्रिकेट प्रतियोगिता आईपीएलको यो ११औं संस्करण हो। पछिल्ला १० संस्करणमा नेपालका क्रिकेटरले स्थान बनाउन सकेका थिएनन्। तर, सन्दीपले त्यहाँ इन्ट्री पाएपछि आईपीएलमा खेल्ने उनी पहिलो नेपाली क्रिकेटर बनेका छन्।

पछिल्ला खेलहरूमा स्पिनको जादुले मोहित तुल्याएका सन्दीप दिल्ली डेयरडेभिल्सबाट खेल्दै छन्। उनलाई आईपीएलको अक्सनमा ३२ लाख नेपालीमा किनिएको थियो। दिल्ली डेयरडेभिल्सको पछिल्ला प्रदर्शनलाई हेर्ने हो भने कमजोर देखिएको छ। सन्दीपलाई एक उत्कृष्ट स्पिनरका रूपमा हेरिएकाले उनीमाथि दिल्लीलाई माथि उठाउन पहिलो चुनौती हुनेछ।

दिल्लीले पुनः गौतम गम्भीरलाई नेतृत्व दिएको छ। गम्भीरले कोलकाता नाइट राइडर्सलाई दुईपटक उपाधि दिलाइसकेका छन्। यसैले पनि दिल्लीले उनीमाथि आशा राखेको छ। दिल्लीले १० वर्षमा केही पनि राम्रो गर्न सकेको छैन। अभागीको ट्याग हटाउन दिल्लीले केही परिवर्तन गर्दै आएको छ। प्रयासलाई जारी नै राखे पनि यो टोली हात लाग्यो शून्यकै अवस्थाबाट माथि उठ्न सकेको छैन।

दिल्लीले पहिले वीरेन्द्र सेहवाग र गौतम गम्भीरबाट शुरुवात गरेको थियो। उनीहरूले केही गर्न नसकेपछि युवराज सिंह जस्ता ब्याटस्म्यान ल्यायो। तर, केही नतिजा हात नपरेपछि एक वर्षपछि नै उनीहरूले युवराजलाई मुक्त गर्नुपर्यो। यसपछि राहुल द्रविडले कोशिस गरे तर उनले पनि भाग्य परिवर्तन गर्न असमर्थ भएका थिए।

आईपीएल २०१८ मा दिल्ली डेयरडेभिल्सले नयाँ गर्न लागेको छ। टोलीमा धेरै खेलाडी हेरफेर भएका छन्। टोलीले गौतम गम्भीरको अनुभवले भाग्य र सफलता प्राप्त हुन्छ भन्ने आशा राखेको छ। रिषभ पन्त, श्रेयास इएर, पृथ्वी शा, मन्जोत कल्रा, अभिषेक शर्मा र विजय शंकरलाई मौका दिइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अनुभव प्राप्त गरेका क्रिस मोरिस, कोलिन मुनरो, ग्लेन म्याक्सवेल, कागिसो राबाडा र जेसन रोय रहेका छन्।
दिल्ली डेयरडेभिल्ससँग नेपालका सन्दीप लामिछाने छ। अमित मिश्रा, शाहबाज नदिम र जयन्त यादवलाई झैं दिल्लीले सन्दीपलाई स्पिनरको विशेषज्ञको समूहमा राखेको छ। यसले टोलीले सन्दीपमाथि ठूलो विश्वास गरेको अनुमान लगाउन सकिन्छ। साथै उनले खेल्न सक्ने धेरै सम्भावना पनि रहेको छ। तर, दिल्लीले सम्भावित खेल्ने ११ खेलाडीको नामावलीमा भने अझै सन्दीपलाई सूचीकृत गरेको छैन।

दिल्लीको प्रदर्शन
दिल्ली डेयरडेभिल्सले आईपीएलका पछिल्ला १० संस्करणमा ४२.१८ प्रतिशतले मात्रै जित हात पारेको छ। यो २०१८ मा सहभागी ८ टोलीमध्ये प्रतियोगितामा सबैभन्दा कमजोर तथ्यांक हो। उनीहरूको दिल्लीमा जित–हारको अनुपात पनि ०.७२ रहेको छ। यो पनि ती टोलीमाझ कमजोर घरेलु मैदानमा बेहोरेको तथ्य हो। त्यस्तै दिल्ली डेयरडेभिल्सको स्थान पनि शीर्ष दुईभन्दा बाहिर नै बनिरहेको छ। गत आईपीएलमा टोलीले १४ खेलमा ६ मा जित्दै छैटो स्थान ओगटेको थियो। दिल्ली डेयरडेभिल्सले यस सिजनको आईपीएलमा लगातार पाँच खेल अवे मैदानमा खेल्नेछ। अप्रिल २३ मा मात्रै टोलीले घरेलु मैदानमा पहिलो खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्