गीतकार चौधरीको जन्मदिनमा एकसाथ ९ भाषामा काव्यकृति



गीतकार, कवि एवं प्रतिष्ठित उद्योगपति वसन्त चौधरीको काव्यकृति वसन्त एकसाथ ९ भाषामा आएको छ। गीतकार चौधरीको भावनात्मक वसन्त बुधबार राजधानीमा आयोजित एक समारोहबीच ९ भाषामा भिन्दाभिन्दै अतिथिले सार्वजनिक गरे।

गीतकार तथा कवि चौधरीको ६०औं जन्मदिनको अवसर पारेर लुनकरणदास–गङ्गादेवी चौधरी साहित्य कला मन्दिरले उनको काव्यकृति सार्वजनिक गरेको हो। नेपाली काव्य साहित्यमा पहिलोपटक एकै सर्जकको ९ कृतिको एकैपटक सामूहिकरूपमा सार्वजनिक गरिएको हो। गीतकार चौधरीद्वारा नेपाली भाषामा रचित कविता संग्रह वसन्त अंग्रेजी, हिन्दी, नेवारी, मैथिली, भोजपुरी, तामाङ, बंगाली र मारवाडी गरी ८ भाषामा अनुवादसहित सार्वजनिक गरिएको हो। सबै कृतिको नाम वसन्त नामाकरण गरिएको छ। यसको ९ भाषाका कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपालभाषाका कवि दुर्गालाल श्रेष्ठ, अंग्रेजीमा साहित्यकार प्रा. श्रीमती भुवन ढुंगाना, हिन्दीमा प्रा. उषा ठाकुर, मारवाडीमा पं. मानवेन्द्र शर्मा, मैथिलीमा भाषाशास्त्री डा. रामावतार यादव, भोजपुरीमा आख्यानपुरुष प्राडा धु्रवचन्द्र गौतम, तामाङमा भाषाविद् अमृत योञ्जन र बंगालीमा संगीतकर्मी नुपुर भट्टाचार्यले सामूहिकरूपमा लोकार्पण गरेका थिए।

‘यस कार्यले कवि वसन्त चौधरीको काव्यिक वैशिष्ट्यलाई त अभिव्यक्त गरेको छ नै साथसाथै यसमार्फत नेपाली कविताको महत्त्वलाई अन्य भाषामा समेत सम्प्रेषण गर्ने प्रसंशनीय कामको शुरुआत गरेको छु, समारोहमा यी संग्रहमाथि समीक्षा गर्दै प्रा. अभि सुवेदीले भने– ‘यी कृतिले नेपाली साहित्यलाई नै राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउन अहम् भूमिका खेल्नेछन्।’ त्यसै गरी आफ्नो काव्यिक मन्तव्य प्रस्तुत गर्दै गीतकार चौधरीले भने– ‘मेरो जीवनको यस यात्रामा, व्यवसाय एक कर्मठ बन्ने प्रेरक तत्त्व रह्यो भने मलाई उत्साही भएर बाँच्ने प्रेरणा दिने तत्त्व साहित्य, संगीत र कला नै हो।’ चौधरीले आफ्नो यहाँसम्मको जीवनयात्रा सार्थक रहेको सुनाउँदै यसले आफूलाई ठूलो सन्तोष दिएको र सदैव साहित्य, कलालाई शिरोपर गर्दै यी क्षेत्रमा केही न केही गर्ने प्रयत्न गरिरहेको बताए। ‘म आफूलाई मूलतः साहित्यको अभ्यासी मान्दछु।

साहित्य कलाका लागि केही गरूँ भन्ने भावना ममा स्वतः उम्रेको हो। जति गरे पनि अझ धेरै गर्न बाँकी छ, त्यो बोध मलाई छ। नयाँ वर्ष वा जन्मदिनमा विभिन्न प्रणहरू पनि गरिन्छन्। आज म आफ्नो ६० वर्षे जीवनको अध्यायसामु उभिएर यही प्रण गर्न चाहन्छु कि यो साहित्यिक सिर्जना, सद्भाव र सेवाबाट म निरन्तर अघि बढ्नेछु, उनले भने– ‘मेरो नेपाली कविता संग्रहको ९ भाषामा ९ जना विद्वान लेखकबाट एकैसाथ लोकार्पण गरिएको यो क्षण, मेरो जीवनको अत्यन्त रोमाञ्चक र आनन्ददायी क्षण हो। यसमा म अत्यन्त पुलकित र हर्षित छु। देशका विभिन्न भाषामा थोरै भए पनि सेवा पुर्याउन सकुँ भन्ने उद्देश्यले मात्र यसो गरेको हुँ।’ उनले आफ्नो संग्रहबाट एउटा नेपाली कविता पनि वाचन गरेका थिए।

उनको कृतिको सुरेशकिरण मानन्धर (नेपालभाषा), डीबी गुरुङ (अंग्रेजी), गोपाल अश्क (हिन्दी), लक्ष्मण नेवटिया (मारवाडी), धीरेन्द्र प्रेमर्षि (मैथिली), गोपाल ठाकुर (भोजपुरी), फूलमान बल (तामाङ) र राजेन्द्र गुरागाईं (बंगाली) ले अनुवाद गरेका हुन्। नेपाली कविताको सम्पादन डा. देवी नेपालले गरेका छन्। कला मन्दिरका सदस्य राजेन्द्र सलभद्वारा सञ्चालित कार्यक्रममा कला मन्दिरका उपाध्यक्ष तथा अभिनेता हरिहर शर्माले धन्यवाद ज्ञापन गरेका थिए। सो अवसरमा चौधरीको कवितामाथि नाट्य प्रस्तुति पनि प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्