बैँकहरु नगरमै केन्द्रित,एउटै वडामा बाणिज्यका ७ शाखा



सलिम अन्सारी,प्यूठान ।

नगरपालिकाको एउटै वडामा राष्ट्रिय स्तरका ‘क’ वर्गका वाणिज्य बैंकका शाखाहरु थुपिए्र पनि जिल्लाका दुर्गम गाउँपालिकाहरु अहिले पनि बैंकविहीन बनिरहेका छन्। ‘क’ वर्गका २८ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड एक्टेन्सन काउण्टर, नेपाल इन्भेष्टमेण्ट बैंक, निक एशिया बैंक, बैंक अफ काठमाण्डौ, सिभिल बैंक र सिद्धार्थ बैंक प्यूठान नगरपालिका ४ विजुवार र जुम्रिबाट सञ्चालन भइरहेका छन्।

जिल्ला सदरमुकाममा रहेका नेपाल बैंक लिमिटेड, र कृषि विकास बैंक बाहेक अन्य कुनै पनि स्थानीय तहहरुमा राष्ट्रिय स्तरका ‘क’ वर्गका बैंकहरुको शाखा पुग्न सकेको छैन। अन्य स्थानीय तहमा बैंक नहुँदा खाता खोल्न, काम सम्पादन गर्ने, स्रोतको व्यवस्थापन तथा खर्च गर्न समस्या भइरहेको छ।

प्यूठानीको प्रयासमा स्थापना भएका गौमुखी विकास बैंक साइन रेसुङ्गा डेभलपमेण्ट बैंकसँग र झिमरुक विकास बैंक ज्योति विकास बैंकसँग मर्जर भएर जिल्लाका विभिन्न स्थानमा शाखाहरु सञ्चालन भएपनि वाणिज्य बैंकहरु जिल्लाका बजार केन्द्रहरुमा समेत पुग्न सकेका छैनन्।

सरकारले सबै स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकका शाखाहरु पु¥याउने लक्ष्य अनुसार गौमुखी गाउँपालिकामा नेपाल एसविआइ बैंक, माण्डवी गाउँपालिकामा सिभिल बैंक, सरुमारानी गाउँपालिकामा प्राइम कमर्सियल बैंक र ऐरावती गाउँपालिकामा मेगा बैंक लि. को आगामी बैशाख मसान्तभित्र शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले गत साता परिपत्र गरेको छ।

त्यस्तै नौवहिनी गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंक र झिम्रुक गाउँपालिकामा सिटिजन्स बैंकको शाखा आगामी असार मसान्तसम्म स्थापना गर्न सम्वन्धित बैंकहरुलाई राष्ट्र बैंकले परिपत्र गरेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले वृद्ध भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था ल्याएको छ। तर, हाल सबै स्थानमा बैंक खाता नपुगेकाले स्थानीयले समयमा भुक्तानी पाउन सकेका छैनन्।

अहिलेसम्म टेलिफोनको समेत भरपर्दो सुविधा नभएको जिल्लाको उत्तरी क्षेत्रको गौमुखी गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोवारमा समस्या भइरहेको गाउँपालिकाका प्रमुख विष्णुकुमार गिरीले जानकारी दिए।

उता समयमै एसविआई बैंकको शाखा गौमुखी गाउँपालिकामा स्थापना नहुँदा दर्जनौको संख्यामा रहेका सो क्षेत्रका भूतपूर्व भारतीय पेन्सनरहरु समेत पेन्सन लिन गुल्मीको तम्घास जान बाध्य भएको स्थानीयहरु बताउँछन।

नगद पेन्सन बितरण गर्न झण्झटिलो भएपछि अहिले भारतीय पेन्सन क्याम्पले एसविआई बैंकमार्फत पेन्सन वितरण गर्ने योजना लिएको छ।

प्रतिक्रिया दिनुहोस्