प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा कुनै पनि नयाँ सम्झौता नहुने भएको छ। विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिन भ्रमण केन्द्रित हुने भएको छ।

भ्रमणमा नेपालले कुनै पनि नयाँ एजेन्डा प्रस्तुत नगर्ने, द्विपक्षीय सद्भाव र समझदारीलाई नयाँ उचाइमा पुर्याउन विगतका सम्झौता कार्यान्वयनमा जोड दिइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो। ‘हाम्रो (नेपालको) तर्फबाट यही विषयमा सम्झौता गरौं भन्ने एजेन्डा तय भएको छैन, भ्रमण दुवै मुलुकको सम्बन्धलाई पुनः परिभाषित र पुनःसंरचना गर्ने उपयुक्त अवसर हो।’ –कूटनीतिक मामिलामा कलम चलाउने सञ्चारकर्मीहरूसँगको भेटघाटमा उहाँले भन्नुभयो।

नयाँ सरकार गठन भएलगत्तै भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाउने उद्देश्यका साथ भएको मन्त्री ज्ञवालीको भनाइ थियो। मुलुकको आर्थिक विकासलाई तीव्ररूपमा अघि बढाउन दुवै छिमेकी मुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो– ‘आर्थिक विकासका लागि दुवै मुलुकसँगको साँझेदारी जरुरी छ।’ मुलुकको समृद्धिका लागि सरकारले दुवै छिमेकीसँग असल र पारस्परिक सम्बन्ध कायम गर्ने, अन्य मुलुकका उच्चपदस्थ अधिकारीसँगको भेटवार्ता आर्थिक विकासका एजेन्डासँग जोडिने मन्त्री ज्ञवालीले बताउनुभयो।

मन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ सम्झौता नहुने बताइरहँदा विगतमा दुवैतर्फबाट भएका सम्झौताको सूची लामो छ। व्यापार–वाणिज्य, विद्युत व्यापार, रेल सञ्जाल, पेट्रोलियम पाइपलाइन विस्तार, सीमा क्षेत्रको डुबान नियन्त्रण, पूर्व–पश्चिम हुलाकी मार्गका विषय प्रायः हरेकपटकको उच्चस्तरीय भ्रमणका क्रममा दोहोरिन्छन्। त्यसै गरी सीमा सुरक्षा, जलस्रोत, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, विशखापट्टनम् बन्दरगाहको विषय पनि दोहोरिने गर्छ। यी विषयको कार्यान्वयनमा कूटनीतिज्ञहरूले समय–समयमा सरकारलाई राय सुझाव दिने गरे पनि कार्यान्वयन पक्ष कमजार बन्ने गरेको छ।

विभिन्न चरणमा भएका सन्धि सम्झौता पुनरावलोकन गर्ने विषय नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले किनारा लगाउने गरी द्विपक्षीय बैठक र छलफल गरिरहेको छ। समूहलाई तोकिएको २ वर्षे कार्यअवधि आगामी असार तेस्रो साता सम्पन्न हुने भएकाले दुवैतर्फका अधिकारी प्रतिवेदन लेखनमा जुटेका छन्। ईपीजीले बुझाउने प्रतिवेदन कार्यान्वयन हुने मन्त्री ज्ञवालीको विश्वास छ। भारतीय प्रधानमन्त्री मोदी र उहाँका तत्कालीन नेपाली समकक्षी ओलीको कार्यकालमा ईपीजीले काम शुरु गरेको स्मरण गर्दै उहाँले अब उहाँहरूकै कार्यकालमा प्रतिवेदन कार्यान्वय हुने बताउनुभयो।

यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका विषयमा केन्द्रित रहेर पूर्वपरराष्ट्रमन्त्रीहरूसँग नेपाल–भारत सम्बन्ध र अन्य कूटनीतिक विषयमा छलफल गर्नुभएको छ।

भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन बहुमत प्राप्त सरकारका लागि उपयुक्त अवसर भएको र प्रधानमन्त्रीको भ्रमण सम्बन्ध सुधारमा केन्द्रित हुनुपर्ने पूर्वमन्त्रीहरूले सुझाव दिएका छन्। राष्ट्रिय हितलाई केन्द्रित गरेर भारतसँगको सम्बन्ध अघि बढाउन, विगतमा भएका सहमति⁄सम्झौता कार्यान्वयनमा जोड दिन पूर्वमन्त्रीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्