३ नम्बर प्रदेशको राजधानी काभ्रे सार्ने यस्तो तयारी



मोतीराम तिमल्सिना, काभ्रे ।

प्रदेश नम्बर ३ को राजधानी काभ्रेपलाञ्चोकमा बनाउन प्रस्ताव दर्ता गरे लगत्तै जिल्लामा रहेका उद्योगी ब्यवसायी तथा विभिन्न संघ संस्थाहरुले तयारी शुरु गरेका छन् ।

प्रदेश राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार लगायतका अन्य ब्यवस्थापनको कार्य शुरु भएको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बताए । जिल्लाबाट निर्वाचित प्रदेश सभाका सांसद चन्द्र लामाको प्रस्तावमा रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल समर्थक रहेर प्रदेश सभामा काभ्रेपलाञ्चोक जिल्लालाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव दर्ता भएको छ । काभ्रे उद्योग बाणिज्य संघले प्रस्ताव दर्ता गराउने सासंसदहरुलाई समेत बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

शनिबार साँझ काभ्रे उद्योग बाणिज्य संघले आयोजना गरेको जिल्लाबाट निर्वाचित सासंद गोकुल बास्कोटा संचार तथा सूचना प्रविधि राज्यमन्त्रीमा नियुक्ति भएपछि बधाई तथा शुभकामना आदान प्रदान र बधाई ब्यक्त गर्दै महासंघका केन्द्रिय सदस्यले हरेक हिसावले उपयुक्त काभ्रेपलाञ्चोक जिल्लाका सम्भावनाहरुलाई थप प्रभावकारी बनाउन राज्यको थोरै मात्र सहयोग आवश्यक भएको बताए ।

मन्त्री बास्कोटाले ब्यापारलाई उद्योग सेवामा परिवर्तन गर्न, कृषिजन्य उत्पादनलाई कोल्डस्टोरेजको माध्यमबाट लामोसमयसम्म टिकाईराख्न, सुनकोशीमा हाईड्रोपाओरको डिपिआर निर्माण लगायतका कार्यहरु शुरु भएको बताए । कर्मचारीतन्त्रको छिटो छरितो सेवालाई प्रभावकारी बनाउँदै कृषि तर्फको औधोगिकरणमा सरकारले विशेष चासो दिदै योजना बनाउने मन्त्री बास्कोटाले बताए ।

प्रदेश मन्त्रालयका चार वटा भवन, प्रदेश प्रमुख, मुख्य मन्त्री, मुख्य सचिव, सभामुख, उप सभामुख लगायतका अन्य सात मन्त्रीको निवासका लागि आईटी पार्क भित्रै निर्माण गर्न सकिने प्रतिवेदन तयार गरिएको छ ।

पाँचखालमा रहेको सेजको जग्गालाई कम्पाउण्ड लगाउने काम शुरु भएकाले तत्काल त्यसको योजना निर्माण गरी काम शुरु गर्ने बताए । धुलिखेलमा आन्तरिक एयरपोर्टका लागि ठुलीचौर नै सम्भावना भएको बताउँदै मन्त्री बास्कोटाले ब्यवसायलाई कानुनद्वारा नै सुरक्षित गर्ने र विधी तथा कानुनको शासन लागु गराउने बताए । उद्योगी ब्यवसायीहरुलाई वातावरणमैत्री उद्योग स्थापना र संचालनका लागि सरकारले वातावरण बनाउने मन्त्री बास्कोटाले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले काभ्रेपलाञ्चोक जिल्लामा राष्ट्रिय बसपार्क निर्माण, ब्यापारीक गतिविधि बढाउनका लागि जग्गा ब्यवस्थापन, ब्यापारलाई उद्योगका रुपमा स्थापना गर्ने वातावरण, पाँचखालमा रहेकार १२ सय रोपनीको सेजको जग्गालाई औधोगिकिरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश सभा सदस्यहरु चन्द्र लामा, लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईले काभ्रेपलाञ्चोकको सम्वृद्धीका लागि राजधानीको प्रस्ताव दर्ता गरिएकाले सबै पक्षले जिल्लाको सम्भावनालाई अगाडी बढाउन अनुरोध गरे । राजधानीको पक्षमा मतदानबाट टुङ्गिने बताउँदै सांसदहरुले काभ्रेपलाञ्चोक जिल्ला सबै जिल्लाहरुका लागि सबै हिसावले उपयुक्त भएको तर्क पेश गरे । अध्यक्ष प्रकाश मानन्धर, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रताप बैद्य लगायतले जिल्लाको विकासका लागि सबै पक्ष एकजुट हुनुको विकल्प नभएको बताएका थिए । महासचिव कैलाश पलाञ्चोकेले उद्योगी ब्यवसायीहरुलाई कानुन र वातावरण बन्दा मात्रै सहज हुने बताए ।

यस्तो छ तयारी

प्रदेशको राजधानीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरुको तयारी शुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेशको स्थायी राजधानी नीति, विधि र संविधान अनुसार हुने बताईरहँदा राजधानीको आकाँक्षा राख्ने जिल्ला काभ्रेले त्यसको तयारी शुरु गरेको छ । केहि जिल्लाका बाहेक अधिकांश जिल्लाका सांसदहरु प्रदेशको राजधानी मकवानपुर बाहेक अन्यत्र हुने बताउँदै आईरहेका बेला काभ्रेपलाञ्चोक जिल्लामा राजधानीका लागि आईटी पार्क लगायतका भौतिक संरचनाहरु तयारी गरिएको छ ।

‘कुल ४१ करोड खर्च गरिँदा आईटी पार्क नै प्रदेश ३ को राजधानीका लागि उपयुक्त हुन्छ’– भवन डिभिजन कार्यालय काभ्रेका इन्जिनियर अशोक अधिकारीले भने–‘सरकारले मागे अनुसारको प्रतिवेदन हामीले बुझाईसकेका छौं ।’ आईटी पार्क क्षेत्रमा प्रदेश राजधानी राख्दा जम्मा कायम भएको १ सय ९२ रोपनी जग्गामा थप संरचना समेत बनाउन सकिने तथा प्रदेश सभाको लागि थप आवश्यक जग्गा समेत लिनको लागि पर्याप्त सार्वजनिक जग्गाहरु वरिपरी रहेको प्रतिवेदन तयार भएको छ ।

साथै तत्कालको लागि आवास भवनहरु समेत उपलब्ध रहेको र एउटै क्षेत्रबाट सरकारी सेवा समेत प्रदान गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । भवन डिभिजन कार्यालय काभ्रेले तयार गरेको प्रतिवेदनमा आईटी पार्कको मुख्य भवनको पहिलो तल्लामा मुख्य मन्त्रीको कार्यालय राख्न सकिने उल्लेख गरिएको छ । ८ वटा कोठा रहेको उक्त तल्लामा १ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

आईटी पार्कको मुख्य भवनको दोश्रो तल्लामा प्रदेश मन्त्रालय २ वटा राख्न सकिने छ । तेश्रो तल्लामा प्रदेश मन्त्रालयका २ वटा, चौथो तल्लामा मन्त्रालयका २ वटा कार्यालय राख्न सकिनेछ । सबै तल्लामा ८/८ वटा कोठा उपलब्ध छन् । आईटी पार्कको प्रशासकिय भवनको पहिलो तल्लामा प्रदेश प्रमुखको कार्यालय रहनेछ । जसमा ४ वटा कोठा रहेका छन् । आईटी पार्क प्रशासकिय भवनको दोश्रो तल्लामा प्रदेश मुख्य सचिवको कार्यालयका लागि उपयुक्त छ । जसमा पाँचवटा कोठा उपलब्ध छन् । आईटी पार्क भित्रै प्रदेश सभा भवनको सचिवालय र प्रदेश सभा हल प्रिफ्याबको भवन निर्माण गर्न सिफारिस गरिएको छ ।

प्रदेश मन्त्रालयका चार वटा भवन, प्रदेश प्रमुख, मुख्य मन्त्री, मुख्य सचिव, सभामुख, उप सभामुख लगायतका अन्य सात मन्त्रीको निवासका लागि आईटी पार्क भित्रै निर्माण गर्न सकिने प्रतिवेदन तयार गरिएको छ । सुरक्षा बेस क्याम्प, पार्किङ्ग एरिया निर्माण र नपुग आवासका लागि ४१ करोड रुपैया प्रस्ताव गरिएको छ । १५ वर्ष अघि निर्माण भएको उक्त भवनहरुको केहि मर्मत सम्भार गर्नु पर्ने विवरण सहित पेश गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए । प्रतिवेदन प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा सिफारिस गरिएको हो ।

जिल्लामा रहेका अन्य सरकारी कार्यालयहरुलाई पनि प्रदेश तहको राजधानीका लागि प्रयोगमा ल्याउन सकिने प्रतिवेदन बुझाईएको छ । २७ करोड रुपैया खर्च गरी मर्मत गर्दा प्रदेशका लागि आवश्यक पर्ने पुर्वाधार तयार गर्न सकिनेछ । शैक्षिक तालिम केन्द्रमा रहेको मुख्य भवन सहित १ सय ५० जना अट्न हल, शैक्षिक तालिम केन्द्रमा रहेका होस्टलका चारवटा भवनहरु।

जिल्ला शिक्षा कार्यालय काभ्रेका दुईवटा भवन, घरेलु तथा साना उद्योग कार्यालयको नयाँ निर्माण भएको भवन, नापी कार्यालयको नयाँ निर्माण भएको ५ तल्ले भवन, भूमि ब्यवस्थापन तालिम केन्द्रको मुख्य भवन, तालिम केन्द्र, सहकारी डिभिजन कार्यालयको साढे तीन तल्ला भवन, जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला बन कार्यालय, मालपोत कार्यालयका भवनहरु प्रयोग गर्न सकिनेछ । फर्निसिङ्ग र कार्यालयहरुको ब्यवस्थापनका लागि केहि रकम खर्च गर्दा उक्त क्षेत्रमा प्रदेश ३ को राजधानीका लागि उपयुक्त हुनेछ ।

मकवानपुरमा रहेको अस्थायी राजधानीलाई स्थायी राजधानी बनाउन प्रयास भए पनि सांसदहरुको रुची छैन । काभ्रेपलाञ्चोक जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरु गोकुल बास्कोटा, गंगाबहादुर तामाङ, प्रदेश सभा सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, समानुपातिक सांसदहरु गोमा भुर्तेल लगायतले काभ्रेमा राजधानी बनाउन लविङ्गलाई तिब्र बनाएका छन् । अस्थायीबाट स्थायी राजधानी बनाउने प्रकृया शुरु भईरहँदा जिल्लामा राजधानीका लागि आवश्यक पूर्वाधारहरुको ब्यवस्थापन भईरहेको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्