बाँदरको उपद्रोले गाउँले हैरान



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखाको बिभिन्न ठाँउमा बादरले उबद्रो गर्न थालेपछि किसानहरुले हैरानी खेप्नु परेको छ । बाँदर आतङ्ककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको किसानहरुको गुनासो छ ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ राउत गाँउ, तार्थली, पुर्कुचा, लम्पतेका किसानले ढुक्कसंग अन्नबाली लगाउन समेत नपाएको झण्डै तीन बर्ष वितेको स्थानिय ध्रुब केसी बताउँछन्। दैनिक जसो बाँदरले दुःख दिन थालेपछि किसानहरुले मकै, कोदो, धान जस्ता अन्नबाली लगाउन छोडेको स्थानिय केसीको गुनासो छ ।

बाँदरले मकै, कोदो, धान, तोरी जस्ता बालिमा दुःख दिन थालेपछि अहिले किसानहरुले जमिन बाँझै राख्न बाध्य बनेको स्थानीयको गुनासो छ ।

प्रायः अन्नबालीलाई बाँदरले दुःख दिन्छ स्थानिय किसान ध्रुबले भने – सधै ठूलो हुलमा आउने भएकोले किसानहरुले मात्र लखेट्न पनि समस्या, स्थानिय प्रशासन, कृषि कार्यालय, बन कार्यालय लगाएतको निकायलाई गुर्हादा पनि सुनवाई हुन सकेन । बाँदरले मकै, कोदो, धान, तोरी जस्ता बालिमा दुःख दिन थालेपछि अहिले किसानहरुले जमिन बाँझै राख्न थालेको उनले बताए ।

बाली फल्ने समयमा बादरहरु २०/२५ वटाको हुलमा आउछन्, धेरै संख्यामा आउने भएपछि हामीले केहि गर्नै सक्दैनो – उनले भने । बाँदरले धेरै दुःख दिन थालेपछि भीमेश्वर नगरपालिकामा समेत निवेदन दिएको तर नगरपालिकाले पनि कुनै सुनवाई नगरेको केसीको भनाई छ ।

दोलखा विगु गाँउपालिका वडा नम्बर ४ लादुकको किसान यमकुमारी श्रेष्ठको गुनासो पनि ध्रुबको जस्तै छ । लादुकमा अधिकांश किसानको बारी जंगल छेउमा रहेको र त्यहाँ अन्नवाली लगाउदा बाँदरले दुःख दिने गरेको यमकुमारीले बताईन । बाँदरहरु आक्रमक रुपमा ४०/५० वटाको हुलमा आउने गरेको र अन्नबाली नास गरिदिने यमकुमारीले बताईन । महिला, केटाकेटीलाई आक्रमण गर्ने भएकोले झन समस्या भएको उनको भनाई छ । पहिले पहिले १/२ वटा बाँदर आउथे र त्यसलाई मार्न या लखेट्न सकिन्थ्यो तर अहिले बाँदर मार्दा गौरीशङ्कर संरक्षणले कार्वाहि गर्छ, लखेट्न पनि धेरैको संख्यामा आउने भएकोले समस्या हुन्छ – यमकुमारीले भनिन् ।

गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह संरक्षण क्षेत्रमा बाँदरले दुःख दिएको गुनासो आउने गरेको उल्लेख गर्दै बाँदरले नोक्सान नगर्ने विरुवा लगाउन संरक्षण क्षेत्रले सहयोग गर्दै आएको बताउछन् । बिभिन्न १३ वटा जंगली जनावरले किसानको बालीलाई नोक्सान गर्दा क्षतिपूर्तिको व्यवस्था भएपनि बाँदर, मृग, दुम्सी आदिले नोक्सान गर्दा के हुने भन्ने व्यवस्था नभएकोले बाँदरले बाली नोक्सान गरेको उजुरी आएपनि क्षतिपूर्ति दिन नसकिने शाह बताउँछन् ।

दोलखा जिल्लाको समथर तथा उच्च भेग सबैतिर बाँदर आतंक भएकोले विशेषगरी सडक आसपास, खोल्सा तथा जंगलमा रहेको खेतबारीमा लगाईने अन्न बालिमा बाँदरले धेरै दुःख दिने गरेको पीडितहरुको गुनासो रहेको छ । दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष महेश काफ्ले भीकरोटको कुटीको भीर, पिपल बोट लगाएतका ठाँउमा बाँदरले दुःख दिने गरेको र बाँदर नियन्त्रण गरिदिन स्थानियको आग्रह गरेकोले वडा समितिले गाँउपालिकालाई लिखित रुपमै समस्या बारे जानकारी सहित नियन्त्रणको आवश्यक पहल गर्न लिखित आग्रह गरिएको बताउँछन् ।

दोलखामा तीन जातको बाँदर देखिएको छ । लंगुर, रातो बाँदर र आशामी । दोलखामा बाँदर सम्बन्धि अध्यन गरिरहेका गौरीशङ्कर संरक्षण क्षेत्रका संरक्षण अधिकृत विष्णु पाण्डेका अनुसार यी बादरहरु दोलखामा धेरै पहिले अन्य मुलुकबाट आएका हुन् । पाण्डेका अनुसार दोलखामा पाईने लंगुर र रातो बाँदर भारतबाट आएका हुन् भने आशामी थाईल्याण्डबाट आएका हुन् । बाँदरको परिवार फुट्ने क्रममा उनीहरु बिभिन्न ठाँउमा फैलने गरेको अध्यनले देखाएको छ ।

पहिले पहिले बादरहरु तुलनात्मक रुपमा सोझा हुने गरेकोमा अहिले निक्कै आक्रमक हुन थालेको र यसले बाँदर नियन्त्रणमै पनि समस्या भएको संरक्षण अधिकृत पाण्डे बताउँछन् । विशेष गरी रातो बादर बढी आक्रमक हुने गरेको पाण्डेले बताए । मानिसमा देखिएको परिवर्तन तथा खानपानको प्रभावले बाँदरमा पनि परिर्वतन देखिएको र बाँदरहरु पनि जंग फुडमा बढी आकर्षित हुन थालेपछि आक्रमक देखिन थालेको पाण्डेको भनाई छ । दोलखामा पाईने लंगुर तथा आशामी जातको बादर ४ हजार मीटरसम्मको उचाईमा पाईने र रातो बादर दुई हजार पच्चिस सय मीटरसम्मको उचाईमा पाईने गरेको छ ।

आशामी बाँदर २० देखि ५० सम्मको हुलमा हिड्ने गरेको, रातो बादर ५०/६० सम्मको हुलमा हिड्ने गरेको र लंगुर ५० देखि १ सयवटा सम्मको हुलमा हिड्ने गरेको अध्यनमा संलग्न पाण्डेले जानकारी दिए । जिल्लामा कतिको संख्यामा बादर छ भन्ने एकिन तथ्याङ्क नभएपनि अधिकांश ठाँउमा बादरले दुःख दिने भएकोले यसको संख्या ठूलै हुनसक्ने पाण्डेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्