एथ्लेटिक्स टोली फर्कियो



काठमाडौं, (नेस)
दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी भई नेपाली एथ्लेटिक्स टोली बिहीबार स्वदेश फर्किएको छ । मार्च २७ तारिखमा भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा विश्वरुपा बुढाले १ रजत जितिन् । विश्वरुपाले टिम स्पर्धामा पनि १ कांस्य जितिन् । विश्वरुपा सम्मिलित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको नेपाली टोलीले कांस्य जितेको नेपाल एथ्लेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । व्यक्तिगत र टिम स्पर्धा दुवै ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । सानुमाया कार्की पदक जित्न असफल रहिन् ।

पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कटवाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । उनीहरु पदकविहीन रहे । टिम प्रशिक्षकमा एथ्लेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई एथ्लेटिक्स संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्