संघीय संसद्मा राष्ट्रपतिको सम्बोधन आज



५ सयभन्दा बढीलाई निम्तो

गंगा बराल, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार संघीय संसद्लाई सम्बोधन गर्नुहुने भएको छ। संसद् सचिवालयले राष्ट्रपतिको सम्बोधनमा सहभागी हुन ५ सयभन्दा बढीलाई निमन्त्रणा वितरण गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले र राष्ट्रियसभाको मंगलबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई साढे ३ बजेभित्र संसद् भवनमा प्रवेश गर्न अनुरोध गर्नुभएको छ।

सांसदलाई औपचारिक पोसाकमा आउन पनि संसद् सचिवालयले आग्रह गरेको छ। प्रतिनिधिसभा भवनमा भएका सिट संख्याभन्दा सांसद संख्या कम भएकाले बीचमा बार लगाइएको छ।

दुवै सदनको बैठक बस्दा भने बार खोलिने र प्रतिनिधिसभाको मात्र बैठक बस्दा फेरि बार लगाइने संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले जानकारी दिनुभयो। दुवै सदनमा आवश्यकभन्दा केही बढी संख्यामा कुर्सी रहेका छन्।

प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिको दफा २९ मा ‘राष्ट्रपतिबाट सम्बोधन’ गर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिममा संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने लेखिएको छ। संविधानको धारा ९५ को (१) मा भनिएको छ ‘राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थित आह्वान गर्न सक्ने छ।’

यही धाराको (२) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भनिएको छ। संघीय संसद्को निर्वाचन भएपछि राष्ट्रपतिले पहिलोपटक संघीय संसद्लाई सम्बोधन गर्न लाग्नुभएको हो।

दफा ३० मा राष्ट्रपतिले सम्बोधन गरेपछि बसेको सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधनको १ प्रति टेबुल गर्नुहुनेछ। राष्ट्रपतिको सम्बोधन सकिएर उहाँ गइसकेपछि केही बेरमा बस्ने संसद्को अर्को बैठकले सम्बोधनका लागि राष्ट्रपतिलाई एक सांसदले धन्यवादको प्रस्ताव पेस गर्ने र अर्का सांसदले समर्थन गर्नुहुनेछ। धन्यवादको प्रस्तावका प्रस्तावक र समर्थकले बोलिसकेपछि सभामुखले उक्त प्रस्ताव उपर कुनै छलफल नगरी निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। बैठकले पारित गरेको धन्यवादको प्रस्ताव सभामुखले राष्ट्रपतिसमक्ष पेस गर्नुहुनेछ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रपति बीचमा र सभामुख र राष्ट्रियसभाको अध्यक्ष एक⁄एक छेउमा रहने जनाइएको छ। राष्ट्रियसभाकी उपाध्यक्ष प्रतिनिधिसभाकी उपसभामुखसँग बैठक कक्षमा तल नै बस्नुहुनेछ। प्रतिनिधिसभा नियमावली मस्योदा समितिका संयोजक कृष्णभक्त पोखरेलले बिहीबारको संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख महराले गर्ने बताउनुभयो।

‘विगतका अध्यासलाई पनि आधार मान्नुपर्छ, हिजो राष्ट्रियसभा हुँदा पनि प्रतिनिधिसभाका सभामुखले नै अध्यक्षता गर्नुहुन्थ्यो त्यसमा कुनै विवाद र अलमल छैन।’ –अधिवक्तासमेत रहनुभएका पोखरलले भन्नुभयो।

संसद् सुविधा शाखाका अधिकृत गोपालमान लाखेका अनुसार राष्ट्रपतिले सम्बोधन गर्ने संसद् बैठकमा सहभागी हुन ६ प्रकारका कार्ड वितरण भएका छन्। शाखाले मंगलबारबाट नै कार्ड वितरण गरेको छ।

उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसचिव, संसद् सचिवालयका पूर्वमहासचिव, सरकारका पूर्वसचिव, पूर्वसांसद, पूर्वविशिष्ठ श्रेणीका कर्मचारीसँगै ५ सयभन्दा बढीलाई निम्तो पठाइएको शाखाको अभिलेखमा उल्लेख छ। कार्ड नलिइकन संसद् भवन प्रवेश गर्न पाइँदैन। ‘क’ मा उपराष्ट्रपति, संवैधानिक अंगका प्रमुख तथा सदस्यहरू, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख (६५ सिट), ‘ख’ मा सम्माननीय र माननीयका श्रीमान⁄श्रीमती र कूटनीतिक नियोगका प्रमुखहरू (८७) सिट, ‘ग’ मा संसद् सचिवालयका पूर्वसचिव तथा सह–सचिवहरू र सरकारका विशिष्ठ श्रेणीका कर्मचारीहरू (६५ सिट), आमन्त्रित व्यक्तित्वहरू (९० सिट), ‘घ’ मा राजनीतिक दलका विशिष्ट नेताहरू (१०० सिट) र ‘च’ मा सचिवालयका पदाधिकारीहरू तथा आमन्त्रित व्यक्तित्वका साथै पत्रकारहरू रहने छन्। दर्शकदीर्घामा रहेका ४ सय ८२ सिटमा ६० सिट थप गरेर ५ सय ४२ सिट क्षमता बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्