तीनपांग्रे सवारी आयात रोक्न माग



हेटौंडा, (नेस)
हेटौंडाका साना सवारी व्यवसायीले क्षमताभन्दा बढी विद्युतीय रिक्सा तथा अटो आयात भइरहँदा पार्किङमा समस्या भइरहेको बताएका छन्। व्यवस्थित पार्किङ माग गर्दै उनीहरूले त्यसलाई व्यवस्थित गर्नुपर्ने माग गरेका हुन्।

हेटौंडामा संयुक्त पत्रकार सम्मेलन गर्दै तीनपांग्रे अटो तथा रिक्सा संयुक्त संघर्ष समितिले ६ बुँदे माग राख्दै जिल्लामा तीनपांग्रे सवारीसाधनको एकीन संख्या संकलन गरी थप आयात गर्न रोक लगाउनुपर्ने बताए। समितिले सन्तुलित भाडादर कायम गर्न, तीनपांग्रे सवारीलाई मुख्य राजमार्ग प्रवेशमा रोक लगाउने सरकारी निर्णय खारेज गर्न, मौखिक र कार्यदक्षताका आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था गर्न तथा गैरकानुनीरूपमा सञ्चालनमा रहेका सवारीसाधन छानबिन गरी कारबाही गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा संघर्ष समिति अध्यक्ष कृष्णप्रसाद रेग्मीले तीनपांग्रे साधन आवश्यकताभन्दा धेरै आयात हँुदा बजार अस्तव्यस्त भएकाले त्यसको आयात रोक्नुपर्ने बताउनुभयो। उहाँले वैज्ञानिक ढंगबाट पार्किङ व्यवस्था मिलाउन हेटौंडा उपमहानगरपालिकासँग आग्रह गर्नुभयो। त्यसका लागि जिल्ला प्रशासन कार्यालय, उपमहानगर, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाइने जानकारी उहाँले दिनुभयो।

संघर्ष समिति सल्लाहकार भीमप्रसाद गौतमले उपमहानगरपालिकाले नगरमा कति क्षमतासम्म तीनपांग्रे सवारी राख्ने भन्ने आफ्नो अधिकार प्रयोग गर्न नसकेको जिकिर गर्नुभयो।
नेपाल अटो तथा ई–रिक्सा स्वरोजगार मजदुर युनियन प्रतिनिधि रुक्मिणी सुवेदीले कतिपय यात्रु इमर्जेन्सी पर्यो भन्दै महँगो भाडा तिर्ने र भोलिपल्ट उजुरी गर्ने प्रवृत्तिले अटो तथा ई–रिक्सा व्यवसायमा समस्या पर्ने गरेको गुनासो गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्