बैंकिङ, बीमा एक्स्पो शुरू



पोखरा, (नेस)
बचत र सुरक्षाका लागि बैंकिङ कारोबार गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। आइतबारदेखि पोखरामा शुरू भएको बैंकिङ, बीमा एक्स्पोको उद्घाटन समा बोल्दै सरोकारवालाहरूले नगदको बचत र सुरक्षाका लागि बैंकिङ कारोबार गर्नुपर्ने बताएका हुन्।

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन, बीमा समितिसँगको सहकार्य साथै बैंकर्स संघ, विकास बैंकर्स संघ, वित्तीय संस्था संघ तथा माइक्रोफाइनान्स बैंकर्स संघको साझेदारीमा मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ÷बीमा एक्स्पोको आइतबार उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले पछिल्लो समय बीमा साक्षरता बढ्दै गएको दाबी गर्नुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष चापागार्इंले पोखरामा आयोजना गरिएको बैंकिङ÷बीमा एक्स्पोले वित्तीय सेवा र बीमाको फाइदाबारे सर्वसाधारणको चेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गर्नुभयो। हाल १२ प्रतिशतमात्रै नागरिक बीमाको पहुँचमा रहेको भन्दै उहाँले सर्वसाधारणलाई बीमाबारे बुझाउन सके सबै नागरिक बीमाको पहुँचमा आउने बताउनुभयो।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले आर्थिक कारोबार व्यक्तिसँग गर्दा विभिन्न जोखिम हुने भन्दै आर्थिक कारोबार सबै बैंकिङ प्रणालीमार्फत् गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो।

बैंकिङ कारोबारबारे बुझ्न सके बचत र सुरक्षा दुवै हुने भन्दै कार्यकारी निर्देशक पौडेलले वित्तीय साक्षरताको अभियानले बैंकिङ कारोबारका फाइदाबारे गाउँगाउँमा बुझाउने विश्वास व्यक्त गर्नुभयो। ७ सय ५३ स्थानीय तहमध्ये १ सय १६ स्थानीय तहमा सामान्य भौतिक पूर्वाधारसमेत नभएका कारण बैंकहरूले शाखा खोल्न अनिच्छुक देखिएको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने समेत उहाँले बताउनुभयो। त्यस्तै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले अहिले शाखा विस्तार गर्ने अभियानमा रहेको जानकारी दिँदै सबै स्थानीय तहमा बैंक शाखा पुगेपछि वित्तीय चेतनाको स्तरमा पनि बृद्धि हुने बताउनुभयो।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालले बैंकिङ शिक्षाबारे बुझाउन सरकार तथा स्थानीय तहसँग सहकार्य गरेर यस्ता कार्यक्रम दूरदराजमा पुर्याउनुपर्ने बताउनुभयो। सर्वसाधारणलाई कर्जा दिएर उद्यमशील बनाउन बैंकहरू अग्रसर हुनुपर्ने ढकालको भनाइ थियो।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका कामु निर्देशक तिलकबहादुर गुरुङ, वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक एवम् आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले बैंकिङ चेतनाबिना उद्यमशीलता हासिल गर्न नसकिने भन्दै युवा तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको बताउनुभयो। सोमबार सम्म चल्ने एक्स्पोमा दुई दर्जनभन्दा बढी बैंक वित्त तथा बीमा कम्पनीहरूको स्टल राखेका छन्। एक्स्पोको बैंकिङ पार्टनरमा प्रभु बैंक र गरिमा विकास बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्