काठमाडौं वर्ल्ड स्कुल: विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउने लक्ष्य



पुष्कर बुढाथोकी,
हाम्रो देश लामो समयको राजनीतिक संघर्ष र संक्रमणपछि सामाजिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ। अब हामीले देशको समृद्धिका लागि र सुखी नेपाली हुनका लागि समाजका हरेक क्षेत्रमा उल्लेखनीयरूपमा सुधारका काम गर्नु आवश्यक छ। यसै तथ्यलाई आत्मसात गर्दै देशभित्रै अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न विद्यालय भवन, सुरक्षित एवं उपयुक्त शैक्षिक वातावरणमा विद्यार्थीलाई व्यवहारिक, समाज तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौं वर्ल्ड स्कुल यस वर्षदेखि सञ्चालनमा आएको छ।

आवास (छात्रावास) सुविधासहितको अन्तर्राष्ट्रियस्तरको स्कुलको अभावमा हरेक वर्ष सयौंको संख्यामा नेपाली अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई मुलुकबाहिर खास गरी भारतमा लैजानुपर्ने स्थिति हामीबाट लुकेको छैन।

हो, यही अवस्थाको अन्त्य गर्न र विज्ञान र प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई समेत आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतीलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउने लक्ष्य बोकेको छ– काठमाडौं वर्ल्ड स्कुलले।अहिलेको समय प्रतिस्पर्धाको समय हो।

त्यसमा पनि अबको प्रतिस्पर्धा साँघुरिंदै गएको विश्वका कारण स्थानीय, प्रादेशिक र राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय जगतमै गर्नुपर्ने अवस्था छ, त्यसैले शिक्षालाई विश्वस्तरीय बनाउने लक्ष्य बोकेको विद्यालयका प्रमुख कार्यकारी राजेन्द्रकुमार घिसिङले बताउनुभयो।

स्कुल पूर्णरूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई मुलुकबाहिर लैजानु नपर्ने र सोका लागि बाहिरिएको करोडौं रकमलाई रोक्न सघाउ पुग्नुका साथै भविष्यमा छिमेकी देशका विद्यार्थीलाई समेत नेपालमा आकर्षण गर्ने काठमाडौं वल्र्ड स्कुलको रणनीतिक योजना रहेको व्यवस्थापन पक्षको भनाइ रहेको छ।

विद्यालयका प्रमुख कार्यकारी घिसिङले विद्यार्थीको शैक्षिक, व्यक्तिगत, सामाजिक, मानसिक एवं शारीरिक विकासका लागि स्कुलले आधुनिक शिक्षण विधिमा जोड दिने बताउनुभयो। उहाँ भन्नुहुन्छ– ‘विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र सानैदेखि आफ्नो कार्यप्रति आफैं जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा दया, करुणा, भाइचाराको अभिवृद्धि गर्ने र एकअर्काप्रतिको सम्मानलाई आत्मसात गर्न निरन्तररूपमा सामाजिक सेवामा लगाउनेजस्ता योजना स्कुलले राखेको छ।’

काठमाडौंै वर्ल्ड स्कुल देशकै सानो जिल्ला भए पनि भक्तपुरमा ठूलो उत्साहका साथ प्रवेश गरेको छ। सूर्यविनायक नगरपालिका–७, गुण्डुमा करिब ५५ रोपनी जग्गामा स्कुल फैलिएको छ। ३ लाख वर्गफिटबराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको छ। पहिलो चरणको निर्माण कार्य लगभग सकिएको बताउँदै विद्यालयका प्रमुख कार्यकारी घिसिङले दोस्रो चरणको निर्माण कार्य आगामी एक वर्षमा सम्पन्न हुने योजना रहेको बताउनुभयो।

सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरी करिब १२ सय विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्न पाउनेछन्।३ सय ८० जना छात्र/छात्राको आवासगृह तयार हुनेछ। स्विमिङ पुलसहितको अतिरिक्त क्रियाकलाप भवनमा नृत्य, संगीत, मार्सल आर्टस्, लाउन टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपर्पाेज कोर्ट, फुटसल, करिब १५ भन्दाबढी विभिन्न अतिरिक्त क्रियाकलापको सुविधा रहनेछ।

सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि २ वटा हलको निर्माण भइसकेको छ। दोस्रो चरणमा करिव ६ सय क्षमताको अडिटोरियम निर्माण हुने उहाँले बताउनुभयो। विद्यालयको उत्तर, पूर्व र दक्षिणमा हरियो जंगलको सीमाना रहेको र पश्चिमतर्फको सीमानामा मानव बस्ती रहेकाले यो ठाउँ अध्ययन अध्यापनका लागि उपयुक्त देखिन्छ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको समेत अध्यापन पनि गर्नेछ। शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मका लागि मात्र भर्ना खुला गरिएको छ। कक्षा ११ र ए लेभलका कक्षा शैक्षिक सत्र २०७६ बाट मात्र शुरू हुनेछन्। काठमाडांै वर्ल्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपीसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाईसी) माध्यमिक तहमा अपनाउने जनाएको छ।


‘हामी अनुभवी तथा तालिमप्राप्त शिक्षकहरूद्वारा विद्यार्थीलाई अध्यापन गराउने र समय सापेक्ष उनीहरूको ज्ञान तथा शिक्षण क्षमता विकासका लागि निरन्तररूपमा तालिम, गोष्ठी, सेमिनार गर्छांै’, प्रमुख कार्यकारी घिसिङले भन्नुभयो– ‘सामाजिक उत्तरदायित्वका लागि यथासक्दो छात्रवृत्तिको व्यवस्था गर्ने र सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकको शिक्षण तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि समेत काठमाडांै वर्ल्ड स्कुलले सहकार्य गर्ने र आवश्यक तालिम दिने योजना रहेको छ।’

विद्यालय पूर्णरूपमा सञ्चालनमा आएपछि एकातिर देशभित्रका विद्यार्थीलाई यहीं पढ्नका लागि आकर्षित गरेर अध्ययनका लागि विदेशिने स्वदेशी पूँजी यहीं रोक्ने र अर्कोतिर विदेशी विद्यार्थीलाई समेत शैक्षिक पर्यटनका रूपमा आकर्षित गरी विदेशी पूँजी भित्याइ समग्र देशकै मुहार फेर्नमा टेवा पुर्याउने विद्यालयको सोच सार्थक बनोस्, सञ्चालनको अवसरमा शुभकामना।

प्रतिक्रिया दिनुहोस्