राष्ट्रवादी सरकारलाई चुनौती, मन्त्रीक्वार्टर नै भारतको सहयोगमा



मधुसूदन रायमाझी, काठमाडौं

सरकारसँग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरूलाई बासको निकै समस्या पर्ने गरेको छ। हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन्। ललितपुरको पुल्चोकमा अहिले १९ वटा मन्त्रीक्वार्टर रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ। अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन्।

पुल्चोकमा रहेका एउटै मोडलका १५ वटा भवन पनि भारत सरकारको सहयोगमा २०२६ सालमा निर्माण भएको तथ्य फेला परेको छ। भवन निर्माण सम्भार डिभिजन कार्यालयका डिभिजन प्रमुख अम्बादत्त जोशीले यसको पुष्टि गर्दै बाँकी ४ वटा भवनचाहिँ तत्कालीन सरकारले २०५२ सालमा बनाएको बताउनुभयो।

‘पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरूलाई उपलब्ध गराउन सकिएको छैन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘क्वार्टरमा बसेकाहरूलाई सामान्य सामान मात्र परिवर्तन गरे पुग्छ, भाडामा बस्ने मन्त्रीहरूका लागि फर्निसिङ खर्च २ लाख र प्रत्येक महिनाको ४० हजार रुपियाँ भाडा बापतको रकम दिने प्रावधान छ।’

मन्त्री बस्ने घरमा सेन्ट्री पोस्ट र सुरक्षाकर्मी बस्ने कोठा चाहिने भएकाले कम्तीमा दुई वटा फ्याल्टको आवश्यकता पर्छ। मन्त्रीहरू भनेजस्तो डेरा नपाएर भौतारिने अवस्था सिर्जना हुने गरेको छ। मन्त्रीसँग भेटघाट गर्न कार्यकर्तादेखि कूटनीतिक नियोगका व्यक्तिहरूसमेत निवासमा आउँदा व्यवस्थापन गर्न मन्त्रीहरूलाई हैरान हुने गरेको छ। जोशीले थप्नुभयो– ‘मासिक भाडाबाहेक बत्ती, खानेपानी र बिजुलीको पैसा बिलअनुसार सरकारले नै भुक्तानी गर्दै आएको छ।’

तर, सरकारले मासिकरूपमा दिने ४० हजार रुपियाँ भाडामा भनेजस्तो कोठा नपाइने सरकारी क्वार्टर नपाएका मन्त्रीहरूले गुनासो गरेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री धनबहादुर बुढा पुलचोकस्थित मन्त्रीक्वार्टर नभएपछि हाल बौद्धमा बस्दै आउनुभएको छ। उहाँ अहिले उपयुक्त क्वार्टरको खोजीमा लाग्नुभएको छ। राज्यमन्त्री बुढाले पुलचोकमा रहेको मन्त्रीक्वार्टरका लागि आफूले पहल नगरेको बताउँदै क्वार्टरको खोजीमा रहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मन्त्री भएपछि अहिले बसेको घर अपर्याप्त भएको छ, सचिवालयका साथीहरूले घर खोज्दै हुनुहुन्छ, भनेजस्तो पाएपछि सर्नुपर्ला।’

अघिल्लो सरकारमा जम्बो मन्त्रिपरिषद् विस्तार हुँदा आधाभन्दा बढी मन्त्री भाडाकै घर खोजेर बसेका थिए। संविधानअनुसार २५ सदस्यीयभन्दा बढीको मन्त्रिपरिषद् विस्तार गर्न नपाइने प्रावधान छ। सरकारले २५ जना मन्त्रीका लागि अझै ६ वटा भवन निर्माण गर्नुपर्ने आवश्यकता छ।

पाँच क्वार्टरका लागि टेन्डर

मन्त्रीक्वार्टर नपुग्ने भएपछि नेपाल सरकारअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ५ वटा भवन निर्माणका लागि ठेक्का आ≈वान गरेको छ। सो इकाइका अनुसार एक महिनापछि ललितपुरको पुलचोकस्थित मन्त्रीक्वार्टर परिसरभित्र नै आधुनिक र सुविधासम्पन्न क्वार्टर निर्माण कार्य अगाडि बढ्नेछ। एक कर्मचारीका अनुसार एउटा भवन निर्माणका लागि साढे तीन करोड रुपियाँ खर्च हुनेछ। यस्तै बाँकी एउटा क्वार्टर निर्माणका लागि पनि गृहकार्य भइरहेको ती कर्मचारीले बताए। निर्माण हुन लागेको मन्त्रीक्वार्टर कम्तीमा १२ कोठाको हुनेछ।

ओली निवासमा बास्कोटाको बास
सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा मन्त्री भएपछि भक्तपुरको लोहकिल्थलीपस्थित आफ्नै निवासमा बस्दै आउनुभएको थियो। तीनकोठे घरमा आगन्तुक र सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न गाह्रो भएपछि कोठा सर्ने निधोमा पुग्नुभयो।

अन्ततः उहाँ आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा सर्नुभएको छ। राज्यमन्त्री बास्कोटाको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगको परामर्शमा उहाँ बालकोट सर्नुभएको हो। बास्कोटाले ओली निवासमा बसुन्जेल कुनै सरकारी सुविधा नलिने बताउनुभएको छ।

एमालेको राजनीतिमा सधैं ओलीको निकट रहेको मानिने बास्कोटा यसपटक प्रतिनिधिसभा निर्वाचनमा ओलीपछि दोस्रो लोकप्रिय मत प्राप्त गरी विजयी हुनुभएको थियो। राज्यमन्त्री बास्कोटा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्