रंगशालासामु कार बम विस्फोट



काबुल, (एजेन्सी)
अफगानिस्तानको हेलमान्द प्रान्तमा रहेको एउटा खेलकुद रंगशालामा लक्षित गरी एक आशंकित आत्मघातीले कार बम आक्रमण गर्दा कम्तीमा १३ जनाको ज्यान जानुका साथै अन्य दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ। उक्त प्रान्तको राजधानी लस्कर गाहस्थित घाजी मुहम्मद अयुब खान रंगशालामा शुक्रबार कुस्ती प्रतियोगिता चलिरहेका बेला उक्त आक्रमण भएको थियो।

सो कार रंगशाला बाहिरको भिडभित्र ल्याएर विस्फोट गराइएको प्रारम्भिक अनुसन्धानले जनाएको छ। प्रहरी प्रवक्ताले प्रतियोगिता सकिएपछि रंगशालाको द्वारमा विस्फोट गराइएको जानकारी पत्रकारहरूलाई दिएका छन्। हेलमान्द प्रान्तको गभर्नरका प्रवक्ता ओमार जवाकले ती आक्रमणकारी रंगशालभित्र जान खोजेको तर सुरक्षाकर्मीले चिनेको थाहा पाउनासाथ उनले बाहिरै तत्काल बिस्फोट गराएको बताएका छन्। घटनास्थलका तस्वीरहरूमा क्षतिग्रस्त कारहरू र धुवाँको मुस्लो देखिन्छन्।

स्थानीय सञ्चार माध्यमले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ। केही महिनायता अफगानिस्तानमा सुरक्षा फौज र सर्वसाधारणमाथि लक्षित आक्रमणको घटनामा तीव्रता आएको छ। त्यहाँ तालिवान र इस्लामिक स्टेट (आईएस)ले यस्ता आक्रमण गर्दै आएका छन्। गत बुधबार पनि नयाँ वर्षको नोरुज पर्वको अवसरमा तालिवानले गराएको आत्मघाती कार आक्रमणमा ३१ व्यक्तिको ज्यान गएको थियो।
गत महिना मात्र अफगान राष्ट्रपति असरफ घानीले ती लडाकू समूहसँग निःशर्त शान्तिवार्ताका लागि आह्वान गरेका थिए। पछिल्लो आक्रमणपछि घानीले अफगानिस्तानका शत्रुहरूले परम्परागत, धार्मिक र सांस्कृतिक कार्यक्रमहरू रोक्न नसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्