अमेरिकामा नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार



वासिंगटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारमा एचआर म्याकमास्टरको स्थानमा बुसकालीन रक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा संयुक्त राष्ट्रसंघका लागि पूर्वविशेषदूत जोह्न बोल्टनलाई ल्याएका छन्।

ट्रम्पले ट्विटरमार्फत जनरल म्यकमास्टरलाई उनको उल्लेखनीय सेवाका लागि धन्यवाद दिँदै उनी सधंै आफ्नो असल मित्र रहिरहने बताएका छन्। उत्तर कोरिया र इरान विरुद्धको ट्रम्पको आक्रामक नीतिको समर्थन गर्ने बोल्टनले आफ्नो काम राष्ट्रपतिलाई पूर्ण विकल्पको छनोट सुनिश्चित गर्नुरहेको फोर्स न्युजलाई बताएका छन्।

१४ महिनामा ट्रम्प सरकारको राष्ट्रिय सुरक्षा प्रमुख बन्ने यिनी तेस्रो व्यक्ति हुन्। जनरल म्याकमास्टर र्वाइट हाउसबाट बिदा हुने पछिल्लो उच्च पदस्थ अधिकारी हुन्। गत साता मात्र राष्ट्रपति ट्रम्पले विदेशमन्त्री रेक्स टिल्लर्सनलाई बर्खास्त गरी उनको स्थानमा केन्द्रीय अनुसन्धान निकाय (सीआईए ) का पूर्वनिर्देशक माइक पोम्पियोलाई ल्याएका थिए।

बोल्टनको नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदनको आवश्यकता छैन। उनले आगामी ९ अप्रिलदेखि आफ्नो काम थाल्ने भएका छन्। राष्ट्रिय सुरक्षा सल्लाहकारले राष्ट्रिय सुरक्षा र विदेश नीतिका विषयहरूमा राष्ट्रपतिलाई सल्लाह दिने र विदेश तथा रक्षालगायत विभिन्न विभागबाट आएका नीति प्रस्तावनाहरूको माध्यमको भूमिका निभाउने गर्दछन्।

बोल्टनले आफू राष्ट्रपति ट्रम्प र उनको टोलीसँग काम गरी राष्ट्रलाई आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो बनाउन इच्छुक रहेको बताएका छन्। ६९ वर्षीय बोल्टन दशकौंदेखि रिपब्लिकनहरूमाझ विदेक मामिलामा स्थापित र हक्की व्यक्तित्व हुन्। उनले रोनाल्ड रेगन, जर्ज एच डब्ल्यु बुस र जर्ज डब्ल्यु बुसको सरकारमा काम गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्