आवास अनुदानका लागि थप १० अर्बको अख्तियारी



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि बिहीबार थप ९ अर्ब ९५ करोड रुपियाँको अख्तियारी प्रदान गरेको छ। घर निर्माण शरू गरेका व्यक्तिलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई सो अख्तियारी प्रदान गरेको हो।

अर्थ मन्त्रालयले बिहीबार स्रोतान्तर गरी उक्त रकम प्राधिकरणलाई प्रदान गरेको हो। सबै जिल्लामा निजी आवास निर्माण तीव्र गतिमा भइरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले थप बजेटको अख्तियारी दिएको हो।

प्राधिकरणका प्रवक्ता यमलाल भूसालले लाभग्राहीलाई अनुदान रकम लिन कुनै ढिलाइ नहोस् भनेर जिल्लामा बजेट निकासाका लागि अख्तियारी दिइएको बताउनुभयो। प्रवक्ता भूसालले भन्नुभयो–‘आफ्नो घर पुनर्निर्माण गर्न लाभग्राहीलाई सहज होस् भनेर थप बजेटको अख्तियारी दिइएको हो।’

बिहीबारसम्मको तथ्यांकअनुसार ३ लाख ६७ हजार १ सय ६५ घर पुनर्निर्माण भइरहेका छन्। त्यस्तै ३ लाख ११ हजार ७ सय ३ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन्। उनीहरूले आफ्नो सुविधाअनुसार तोकिएको बैंकबाट दोस्रो किस्तावापतको १ लाख ५० हजार रुपियाँ निकाल्न सक्ने छन्।

त्यस्तै तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या पनि उल्लेख गतिमा बढिरहेको छ। बिहीबारसम्मको तथ्यांकअनुसार ८२ हजार ५ सय ८८ लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन्। तेस्रो किस्तावापत लाभग्राहीले १ लाख प्राप्त गर्छन्।

प्राधिकरणले दोस्रो किस्ता लिने समय सीमा चैत मसान्तसम्मलाई तोकी घर पुनर्निर्माण शरू गर्न बाँकी रहेका लाभग्राहीलाई यही अवधिभित्र घरको जग राखी दोस्रो किस्ताका लागि निवदेन दिन आग्रह गरेको छ।
त्यस्तै प्राधिकरणले नेपालभित्र कुनै पनि स्थानमा बस्न योग्य घर भएका वा समय सीमाभित्र घर बनाउन नचाहने भूकम्प प्रभावितले पहिलो किस्तावापत रकम लिएको भए फिर्ता गर्न आग्रह गरेको छ। यसका लागि जिल्ला समन्वय समितिको कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचना नै जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्