झुलाघाटबाट ५२ बालकको उद्धार



बैतडी, (नेस)
प्रहरीले बैतडीको सिमानाका झुलाघाटबाट बिहीबार एकै दिन ५२ जना बालकको उद्धार गरेको छ।

बैतडी र बझांगका गरी ५२ जनालाई भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थीहरू दिनहँुदिन भागेर भारत जाने गरेकाले बिहीबार बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सिमानाका प्रहरीचौकी झुलाघाट प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताउनुभयो।

जसमध्ये २८ जनालाई जिल्ला प्रहरी कार्यलयमा पठाइएको छ भने २४ जनालाई अहिले सिमानाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेका पाण्डयेले बताउनुभयो। १२ वर्ष देखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ। उद्धार गरेका सबै बालकलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उद्धार गरिएका सबैको उमेर १२ वर्षदेखि १७ वर्षमुनि रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्