तस्करसँग सेटिङ मिलाउने प्रहरी जवान निलम्बनमा



संखुवासभा । दुर्लभ वन्यजन्तु सालकको खपेटा तस्करबाट गैरकानुनी ढंगले रकम लिएर छाडेको आरोपमा प्रहरी जवान प्रकाश कार्की र रुद्रबहादुर बस्नेत निलम्बनमा परेका छन् ।

जिल्लाको भोटखोला गाउँपालिमा पर्ने स्याक्सिलामा कार्यरत उनीहरूलाई गत माघ २८ गते पक्राउ गरिएको थियो । उनीहरूलाई भोटखोला ४ को तीनतलेमा एक जना तस्करबाट एक लाख नगद लिएको भेटिएपछि निलम्बन गरिएको हो ।

खपेटा र तस्करलाई बाटैमा छाडेर दुबै प्रहरी जवानले एक लाख नगद लिएको खड्काले बताए

। नगद लिनासाथ गोप्य सूचना डीएसपी सन्तोष खडकालाई आएपछि उनीहरूलाई खनतलास गर्दा नगद भेटिएको खड्काले बताए ।

आगो लागेको स्थानमा पठाइएका ती जवानले फर्किने क्रममा तस्कर भेटेका थिए । रकम लिएर छाडेको प्रमाण पाएपछि दुबै जनालाई पक्राउ गरेको उनले बताए ।

उनले भने ‘सर्च गर्दा एक लाख भेटियो, उनीहरूलाई निलम्बन गरेर अनुसन्धान गरिरहेका छौं ।’ गैरकानुनी ढंगले काम गर्ने कसैलाई उन्मुक्ति नदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्