कार्यक्रमस्थल नै सारियो



भगवती तिमिल्सिना, काठमाडौं
गत सोमबार नेपाल समाचारपत्रमा प्रकाशित २ घण्टाको कार्यक्रमका लागि १५ लाख खर्च गर्नेेसम्बन्धी समाचारको प्रभाव राष्ट्रिय क्षयरोग केन्द्रमा परेको छ। सोही समाचारको प्रभावस्वरूप बुकिङ गरिसकिएको राष्ट्रिय सभागृहको हल रद्द गरी क्षयरोग केन्द्रकै हलमा कार्यक्रम गर्ने तयारी गरेको बुझिएको छ। सो केन्द्रकै हलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा बोलाइँदै छ।

३५ करोडको लागतमा सो अस्पतालको भवन बनाउने सरकारको योजना रहेको छ। अस्पताल भवन बनाउन नगरपालिकासँग समन्वय नभएको र मापदण्ड अनुरूप नक्सा पास नगरी भवन बनाउन थालिएको भन्दै ठिमी नगरपालिकाले २ महिनादेखि तालाबन्दी गरेको थियो। प्रधानमन्त्रीलाई भवन शिलान्यासका लागि ल्याउन निर्देशक डा. केदार नर्सिङ केसीको टोलीले मंगलबार ठिमी नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठलाई मनाएर २ लाख जरिवाना तिर्ने गरी श्रेष्ठ र केसीले एक सम्झौतामा हस्ताक्षर गरेको नगरपालिका स्रोतले जनाएको छ। जरिवाना तिर्ने सम्झौतापछि नगरपालिकाले लगाएको ताला खोलिदिएको छ।

निर्देशक डा. केसीले यही चैत्र २० गते उमेर हदका कारण अवकाश पाउँदै हुनुहुन्छ। यसैबीच केन्द्रको वार्षिक प्रतिवेदन तयार पार्ने नाममा धुलिखेलको एउटा होटलमा गत शुक्रबारदेखि मंगलबारसम्म से भद चिल्ड्रेनको खर्चमा पाँच दिने आवासीय कार्यक्रम राखेको बुझिएको छ। प्रतिवेदन लेख्ने नाममा केन्द्रका सानादेखि ठूला तहका दुई दर्जन कर्मचारीलाई भ्रमण स्वीकृतिबिना नै धुलिखेल लगिएको थियो। साथमा निर्देशक डा. केदार नर्सिङ केसी पनि हुनुहुन्थ्यो। स्मरणीय छ, विश्व क्षयरोग दिवस यही चैत्र १० गते मनाइँदै छ।

भ्रमण आदेश पाएका कर्मचारीहरू साढे ४ दिनको खाना, खाजा खाने र सुत्ने पैसासहित होटलमा एकछाक खाना खाएर फर्किएका थिए भने लेखन कार्यमा दैनिक ५ जना र से भद चिल्ड्रेनलगायतका चालक दलका सदस्य गरी ८ देखि १० जनाले होटलमा दैनिक खाना खाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार यसमा ५ जना बसे पनि २० जना संख्या राखेर प्रतिदिनको ६ हजारभन्दा बढीको बील बनाउने तयारी भइरहेको छ। उता भ्रमण आदेश पाएका कर्मचारीले कार्यक्रम हाजिरी रजिस्टरमा हाजिर गर्न नपाउने भएकाले ५ दिन घरै बसेर बिताएको बुझिएको छ। भ्रमण आदेश पनि निर्देशकले इच्छाएका व्यक्तिको बनाइएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्